सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण

डिसी नेपाल
२९ साउन २०८३ २२:३५

काठमाडौं। नेपाल संस्कृत विश्वविद्यालयद्वारा परिमार्जित नयाँ पाठ्यक्रमलाई आधार बनाएर सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ नामक महत्वपूर्ण ग्रन्थको भव्य समारोहबीच लोकार्पण गरिएको छ। पाणिनीयशिक्षा, व्याकरणशास्त्रको इतिहास, संस्कृत भाषाविज्ञान तथा तुलनासिद्धान्तजस्ता विषयलाई समेटिएको उक्त ग्रन्थलाई संस्कृत व्याकरण तथा भाषाविज्ञानको अध्ययन–अध्यापनका क्षेत्रमा उपयोगी र महत्त्वपूर्ण कृतिका रूपमा प्रस्तुत गरिएको छ।

नेपाल संस्कृत विश्वविद्यालयको व्याकरण विषय समितिको आयोजनामा २०८३ श्रावण २९ गते शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको सभाकक्षमा आयोजित विशेष समारोहमा सन्त समाज, नेपालका अध्यक्ष तथा देवघाटधामस्थित हरिहर सन्न्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले ग्रन्थको लोकार्पण गर्नुभएको हो।

समारोहको सभापतित्व नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत व्याकरण विषय समितिका अध्यक्ष प्रा. भीमप्रसाद कण्डेलले गर्नुभएको थियो। कार्यक्रममा भाषाविज्ञान तथा व्याकरण क्षेत्रका विशिष्ट विद्वान् प्रा.डा. माधवप्रसाद पोख्रेल, वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. अच्युतप्रसाद लामिछाने, पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

समारोहमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. धनेश्वर नेपाल, परीक्षा नियन्त्रक सहप्रा. मुरलीधर दाहाल, पूर्व परीक्षा नियन्त्रक प्रा.डा. विष्णुप्रसाद शर्मा देवकोटा, नेसंवि अनुसन्धान केन्द्रका पूर्वनिर्देशक प्रा.डा. विष्णुप्रसाद दहाललगायत विश्वविद्यालयका विभिन्न विषय समितिका अध्यक्षहरू तथा वाल्मीकि विद्यापीठका विभिन्न विभागका विभागाध्यक्षहरूको उल्लेख्य सहभागिता रहेको थियो।

त्यसैगरी अनुसन्धान व्यवस्थापन एकाइ, वाल्मीकि विद्यापीठका संयोजक सहप्रा. डा. गणेशप्रसाद घिमिरे, नेसंवि प्राध्यापक सङ्घका पूर्वअध्यक्ष प्रा.डा. शान्तिकृष्‍ण अधिकारी, प्रा. शम्भुराज गौतम, त्रिभुवन विश्वविद्यालयका सहप्रा. डा. विष्णुप्रसाद पोख्रेल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सहप्रा. श्यामसुन्दर ढकाल, वाल्मीकि विद्यापीठका लेखाप्रमुख श्री रमेशकुमार जोशी तथा प्रशासन प्रमुख श्री कृष्णप्रसाद निरौलालगायतको उपस्थिति थियो।

कार्यक्रममा करिब १५० भन्दा बढी प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा संस्कृतप्रेमीहरूको सहभागिता रहेको आयोजकले जनाएका छन्। कार्यक्रमको उद्घोषण वाल्मीकि विद्यापीठका उपप्रा. उपेन्द्र दाहालले गर्नुभएको थियो।

समारोहको प्रारम्भमा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. अच्युतप्रसाद लामिछानेले स्वागत मन्तव्य राख्नुभएको थियो। त्यसपछि प्रमुख अतिथि, सभाध्यक्ष तथा अतिथिहरूबाट दीपप्रज्ज्वलन तथा सरस्वतीको तस्वीरमा माल्यार्पण गरिएको थियो। सहप्रा. डा. नारायणप्रसाद पौडेल, उपप्रा. डा. रामप्रसाद पौडेल र उपप्रा. डा. वैकुण्ठ घिमिरेले स्वस्तिवाचन गर्नुभएको थियो।

व्याकरण र भाषाविज्ञान अध्ययनका लागि उपयोगी कृति

लोकार्पित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थमा पाणिनीय शिक्षादेखि व्याकरणशास्त्रको ऐतिहासिक विकास, संस्कृत भाषाको वैज्ञानिक अध्ययन तथा भाषाहरूबीचको तुलनात्मक अध्ययनसँग सम्बन्धित विषयवस्तु समेटिएको छ। नेपाल संस्कृत विश्वविद्यालयले परिमार्जन गरेको पाठ्यक्रमलाई आधार बनाएर तयार पारिएको भएकाले यो ग्रन्थ विश्वविद्यालय तहमा संस्कृत व्याकरण तथा भाषाविज्ञान अध्ययन गर्ने विद्यार्थीका लागि विशेष उपयोगी हुने अपेक्षा गरिएको छ।

ग्रन्थको समीक्षाका क्रममा सहप्रा. डा. केशवशरण अर्याल र प्रा.डा. जीवन अधिकारीले कृतिको विषयवस्तु, संरचना, उपयोगिता तथा शास्त्रीय पक्षमाथि समीक्षात्मक मन्तव्य राख्नुभएको थियो। डा. अर्याल वाल्मीकि विद्यापीठको न्याय विभागका सदस्य तथा प्रा.डा. अधिकारी नेपाल संस्कृत विश्वविद्यालयको अनिवार्य संस्कृत विषय समितिका अध्यक्ष हुनुहुन्छ।

कार्यक्रममा भाषाविद् तथा व्याकरणविद् प्रा.डा. माधवप्रसाद पोख्रेलले शुभकामना मन्तव्य व्यक्त गर्दै ग्रन्थको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो। उहाँले संस्कृत व्याकरण र भाषाविज्ञानका विषयलाई समसामयिक अध्ययनको दृष्टिकोणसँग जोडेर प्रस्तुत गर्ने यस्ता कृतिले संस्कृत अध्ययनलाई थप अनुसन्धानमुखी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभएको थियो।

समारोहका प्रमुख अतिथि श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले आशीर्वचन प्रदान गर्दै संस्कृत भाषा, व्याकरण र शास्त्रीय ज्ञानको संरक्षण तथा सम्वर्द्धनमा यस्ता अनुसन्धानमूलक कृतिको विशेष भूमिका रहने बताउनुभएको थियो।

ग्रन्थकार सहप्रा.डा. प्रकाश तिवारीले धन्यवाद ज्ञापन गर्दै ग्रन्थ तयार पार्ने क्रममा सहयोग गर्ने नेपाल संस्कृत विश्वविद्यालय, व्याकरण विषय समिति, विद्वान्, समीक्षक, सहकर्मी, सहभागी विद्वद्गण तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभएको थियो।

समारोहको समापन सभाध्यक्ष प्रा. भीमप्रसाद कण्डेलले गर्नुभएको थियो। कार्यक्रमपछि सहभागीहरूबीच सामूहिक तस्वीरसमेत खिचिएको थियो।

संस्कृत व्याकरण, पाणिनीय परम्परा र भाषाविज्ञानका विषयलाई एकै कृतिमा समेट्दै विश्वविद्यालयको परिमार्जित पाठ्यक्रमसँग प्रत्यक्ष सम्बन्ध स्थापित गरेको ‘शब्दशास्त्रविज्ञानम्’ले संस्कृत अध्ययन–अध्यापन तथा अनुसन्धानका क्षेत्रमा नयाँ सन्दर्भ सामग्रीका रूपमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *