न्यूयोर्क क्यापिटलमा आक्रमणको योजना बनाएको आरोपमा महिला पक्राउ
काठमाडौं । अल्बानीस्थित राज्य क्यापिटल (संसद्) भवनमा बम विस्फोट गराउने र भित्र रहेका सांसदहरूको हत्या गर्ने योजना बनाएको आरोपमा एफबीआईले न्युयोर्ककी एक महिलालाई पक्राउ गरेको छ।
सरकारी अभियोजकहरूका अनुसार ३५ वर्षीया जेसिका बोवीले यसअघि आतङ्ककारी सङ्गठन ‘इस्लामिक स्टेट’ प्रति निष्ठा व्यक्त गरेकी थिइन्। उनीमाथि संयुक्त राज्य अमेरिकाले विदेशी आतङ्ककारी सङ्गठनका रूपमा सूचीकृत गरेको समूहलाई सहयोग तथा स्रोतसाधन उपलब्ध गराएको अभियोग लगाइएको छ।
अभियोजकहरूका अनुसार बोवीले क्यापिटल भवनको पटक-पटक रेकी (निगरानी) गरेकी थिइन्। पक्राउ पर्ने समयमा उनीसँग एक नक्कली बम र काम नगर्ने बन्दुक बरामद भएको थियो, जुन दुवै उनलाई गुप्तचर एजेन्टहरूले नै उपलब्ध गराएका थिए।
अदालतमा दर्ता आपराधिक उजुरी अनुसार बोवीले गुप्तचर एजेन्टहरूसँग भनेकी थिइन्, “म सकेसम्म धेरै भवन ध्वस्त पार्न र सिनेटरहरूको हत्या गर्न चाहन्छु।”
बोवीले आफूमाथि लागेको अभियोगविरुद्ध अदालतमा कानुनी लडाइँ लड्छिन् या अपराध स्वीकार गर्छिन् भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।
अल्बानीकै स्थानीय बासिन्दा बोवीले आफ्नो यस योजनाबारे एफबीआईका सुराकीहरूसँग छलफल गरेको बताइएको छ। उनले आईएसका सदस्यका रूपमा प्रस्तुत भएका गुप्तचर एजेन्टहरूसँग हप्तौँसम्म सम्पर्कमा रहेर कुराकानी गरेकी थिइन्।
अभियोजकहरूका अनुसार ह्वाइट हाउसको तुलनामा न्युयोर्क स्टेट क्यापिटल भवनलाई सजिलो निसान बनाउन सकिने ठानेर नै बोवीले यस भवनलाई चुनेकी थिइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment