युक्रेनमा रूसको डबल ट्याप ड्रोन आक्रमण, १५ जनाको मृत्यु

डिसी नेपाल
६ भदौ २०८३ १०:३८

काठमाडौं । रुसको ड्रोन आक्रमणमा परी युक्रेनको क्रिभी रिह सहरस्थित एक सपिङ सेन्टरमा कम्तीमा १५ जनाको मृत्यु भएको छ।

स्थानीय अधिकारीहरूका अनुसार यस आक्रमणमा २३ जना बालबालिकासहित १३० जना घाइते भएका छन्। भग्नावशेषमा अझै कैयौँ मानिसहरू पुरिएको आशङ्का गरिएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको यो आक्रमण दिउँसोको समयमा दुई चरणमा गरिएको जानकारी दिएका छन्। उनले यसलाई ‘अत्यन्तै निन्दनीय र घृणित’ हमलाको संज्ञा दिएका छन्।

जेलेन्स्कीका अनुसार दोस्रो ड्रोन आक्रमण ती उद्धारकर्ताहरूलाई लक्षित गरी गरिएको थियो, जो पहिलो प्रहारपछि घटनास्थलमा राहत तथा उद्धार कार्यमा खटिएका थिए।

बीबीसीले प्रमाणित गरेको एक भिडियोमा दोस्रो ड्रोन पहिल्यैदेखि बलिरहेको सपिङ सेन्टरमा ठोक्किएको देख्न सकिन्छ। यो आक्रमण युक्रेनको द्निप्रोपेत्रोभ्स्क क्षेत्रमा भएको हो। रुसी सेनाका तर्फबाट भने यस आक्रमणबारे हालसम्म कुनै प्रतिक्रिया आएको छैन।

द्निप्रोपेत्रोभ्स्क क्षेत्रका प्रमुख ओलेक्जान्डर हान्जाले शुक्रबार साँझ दिएको जानकारी अनुसार मृतकको सङ्ख्या बढेर १५ पुगेको छ। जसमा दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो।

अधिकारीहरूका अनुसार घाइते १३० जनामध्ये २९ जनाको अवस्था गम्भीर रहेको छ। यस्तो अवस्थामा मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ।

भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धारका लागि युक्रेनका अन्य चार क्षेत्रहरूबाट पनि उद्धार टोलीहरूलाई तत्काल क्रिभी रिह पठाइँदै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *