ओडिसानजिकै जहान डुग्यो, २४ जनामध्ये २ को उद्धार अरू बेपत्ता
काठमाडौं । बंगालको खाडीमा शनिबार पानामाको झण्डावाहक मालवाहक पानीजहाज ‘ओसियन विनर’ डुबेको छ। समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै जनाए अनुसार यो दुर्घटना ओडिसास्थित पारादीप तटबाट करिब २४० नटिकल माइल (४४४ किलोमिटर) टाढा भएको हो।
जहाजमा चालक दलका २४ जना सदस्य सवार थिए। जसमा २० जना चिनियाँ, ३ जना म्यान्मारका र १ जना बंगलादेशी नागरिक रहेका छन्। समाचार एजेन्सी रोयटर्सले अधिकारीहरूलाई उद्धृत गर्दै दुई जनाको उद्धार गरिएको र बाँकी बेपत्ता रहेको जनाएको छ।
अधिकारीहरूका अनुसार उक्त जहाज ओडिसाबाट फलामको धातु बोकेर सिङ्गापुरतर्फ जाँदै थियो। दुर्घटनापछि भारतीय तटरक्षक बल (इन्डियन कोस्ट गार्ड) को उक्त जहाजसँगको सम्पर्क टुटेको थियो। अधिकारीहरूका अनुसार भारतीय तटरक्षक बल र भारतीय नौसेनाले उद्धार अभियान सुरु गरेका छन्।
रोयटर्सले कोस्ट गार्डका प्रवक्ता कमान्डेन्ट अमित उनियाललाई उद्धृत गर्दै जहाजको खोजी तथा उद्धार अभियानका लागि श्री विजयपुरम (पहिले पोर्ट ब्लेयरका नामले चिनिने) बाट दुईवटा जहाज प्रस्थान गरिसकेको जनाएको छ।
तटरक्षक बलले हालसम्म ‘लाइफ राफ्ट’ (जीवनरक्षक डुङ्गा) मा सवार दुई जनालाई सुरक्षित उद्धार गरिसकेको छ। बाँकी चालक दलका सदस्यहरूको खोजीका लागि खोजी तथा उद्धार कार्य (सर्च एन्ड रेस्क्यु अपरेसन) जारी छ।
सरकारी स्रोतहरूलाई उद्धृत गर्दै समाचार एजेन्सीले यो जहाज ओडिसाबाट फलामको धातु लिएर सिङ्गापुर जाँदै गरेको जनाएको छ।
जहाज बिहीबार पारादीप बन्दरगाहबाट निस्किएको थियो र अहिले करिब २४० नटिकल माइल (४४४ किलोमिटर) टाढा समुद्रमा डुबेको छ। हालसम्म जहाज डुब्नुको कारण भने खुल्न सकेको छैन।
पारादीप पोर्ट अथोरिटीका डेपुटी कन्जरभेटर क्याप्टेन आलेखा चरण साहूले चालक दलका सदस्यहरूको सुरक्षाको आशा व्यक्त गरेका छन्। उनले जहाजमा सवार मानिसहरूको सुरक्षाका लागि प्रार्थना गरिरहेको र सबैकुरा कुशल हुने आशा व्यक्त गरेका छन्।
‘मरीन ट्राफिक’ को वेबसाइटमा जहाजलाई अझै पनि ‘आउट अफ रेन्ज’ (सम्पर्कबाहिर) देखाइएको छ। वेबसाइटका अनुसार जहाजलाई १ दिन र १० घण्टाअघि रिपोर्ट गरिएको थियो, त्यतिबेला यो बंगालको खाडीमा रहेको थियो।
मरीन ट्राफिकका अनुसार उक्त जहाजको लम्बाइ करिब २२५ मिटर र चौडाइ ३२ मिटर रहेको छ। यसको क्षमता करिब ७२,९२८ टन रहेको छ।
डिजिटल म्यारिटाइम लजिस्टिक प्लेटफर्म ‘रिन्डा’ का अनुसार सन् १९९८ मा बनेको यो ‘बल्क क्यारियर’ जहाज ठूलो मात्रामा सामान एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न प्रयोग गरिन्थ्यो।
‘ओसियन विनर’ को सामान बोक्ने क्षमता ७२,९२८ मेट्रिक टन रहेको छ। जहाजको कुल ‘ग्रस टनेज’ ३९,७५५ टन छ। यसलाई ‘ब्युरो भेरिटास’ ले प्रमाणित गरेको हो, जुन जहाजहरूको सुरक्षा र प्राविधिक मापदण्डको जाँच गर्ने प्रमुख संस्थाहरूमा पर्दछ।
हालैका दिनहरूमा यो जहाज सिङ्गापुर स्ट्रेट, दक्षिण एसिया र पूर्वी एसियाका समुद्री क्षेत्रहरूमा देखिएको थियो।
तथ्याङ्क अनुसार विगत ३६ महिनामा ओसियन विनरको ६७ पटक ‘पोर्ट स्टेट कन्ट्रोल’ जाँच भएको थियो। जसमध्ये ३ पटक जहाजलाई नियन्त्रणमा लिइएको थियो। यस प्रकारको जाँचमा जहाजको सुरक्षा, यसको सञ्चालन र समुद्री नियमहरूको पालनाको परीक्षण गरिन्छ।
ओसियन विनरले हाल पानामाको झण्डामुनि आफ्नो सेवा सञ्चालन गर्दै आएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment