फोहरको पहाडमा पहिरो जाँदा ३० जनाको मृत्यु
गिनीको राजधानी कोनाक्रीमा भारी वर्षापछि फोहोरको डाँडो (थुपारिएको फोहोर) खसेर नजिकैका घरहरू पूर्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ।
घटनामा अन्य २२ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
उक्त दुर्घटना सहरको डार-एस-सलाम क्षेत्रमा स्थानीय समय अनुसार राति करिब दुई बजे भएको हो। गिनी सरकारका अनुसार भारी वर्षापछि फोहोरको थुप्रो अचानक खसेको थियो, जसको भग्नावशेषमा कैयौँ मानिसहरू पुरिएको आशङ्का गरिएको छ।
सरकारले राहत तथा उद्धार अभियानका लागि सेनासहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरूलाई घटनास्थलमा खटाएको छ।
स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा एक महिलाले दुर्घटनामा आफ्ना पाँच जना बालबालिकाको मृत्यु भएको बताएकी छन्। भग्नावशेषमुनि अझै मानिसहरू पुरिएका हुन सक्ने र मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का अधिकारीहरूले गरेका छन्।
घटनास्थलको निरीक्षण गर्न पुगेका गिनीका प्रधानमन्त्री अमादोउ ओउरी बाले वस्तुस्थितिको जानकारी लिएका छन्।
यसअघि स्थानीय नेता लान्सिने सिलाले समाचार एजेन्सी एएफपीलाई जानकारी दिँदै दुर्घटनामा ठूलो सङ्ख्यामा मानवीय क्षति भएको हुन सक्ने बताएका थिए। उनले हालसम्म १८ वटा शव निकालेर शवगृह पठाइसकिएको बताएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment