अध्याँरोबाट उज्यालोतर्फ : गाउँमै आँखा जाँचपछि मोतियाबिन्दुको उपचारको बाटो खुल्यो
तुलसीपुर (दाङ)। दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि आँखाले धमिलो देख्ने समस्याबाट पीडित थिए। आर्थिक तथा अन्य कारणले यसअघि आँखाको परीक्षण गराउन नपाएका उनले गाउँमै सञ्चालन भएको निःशुल्क आँखा शिविरमा जाँच गराउँदा मोतियाबिन्दु भएको पत्ता लाग्यो।
सोमबार वडा कार्यालयमा आयोजित स्वास्थ्य शिविरमा आँखा परीक्षण गराएपछि आचार्यलाई शल्यक्रियाका लागि बोलाइएको छ। “पहिल्यै धमिलो देखिन्थ्यो, तर परीक्षण गराउन पाएको थिइनँ,” उनले भने, “अहिले परीक्षण गराउँदा मोतियाबिन्दु भएको रहेछ। अब शल्यक्रियाका लागि बोलाउनुभएको छ।”
हरीपौरीकै बट्क्या चौधरीको देब्रे आँखामा पनि कम देख्ने समस्या थियो। शिविरमा परीक्षण गर्दा उनको आँखामा समस्या देखिएपछि चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका छन्। गाउँमै आँखा परीक्षणको सुविधा पुगेपछि आफूले समस्या पहिचान गर्न पाएको चौधरीले बताए।
“गाउँमै आँखा जाँच गर्ने शिविर आयो। आँखा जाँच गराउँदा समस्या पनि पत्ता लाग्यो,” उनले भने।
शिविरमा तुलसीपुर–१२ का ३८२ जनाको आँखा परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ६३ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो भने १११ जनालाई आवश्यकताअनुसार चस्मा वितरण गरिएको थियो।
अस्पतालका नेत्र सहायक विमल घिमिरेका अनुसार मोतियाबिन्दुको समयमै पहिचान गरी उपचार गर्न सके दृष्टि गुम्ने जोखिम कम गर्न सकिन्छ। मोतियाबिन्दु बिग्रिँदै गएमा आँखामा थप जटिलता निम्तिन सक्ने भएकाले शिविरमार्फत पहिचान भएका बिरामीको शल्यक्रियालाई प्राथमिकता दिइएको उनले बताए।
सामान्य अवस्थामा मोतियाबिन्दुको शल्यक्रियाका लागि करिब १२ हजार रुपैयाँ खर्च हुने भए पनि शिविरबाट पहिचान भएका बिरामीको शल्यक्रिया ६ हजार ५०० रुपैयाँमा गरिने घिमिरेले जानकारी दिए।
त्यस्तै, चस्मा आवश्यक पर्ने व्यक्तिलाई शिविरमै निःशुल्क चस्मा वितरण गरिएको अस्पतालका प्रशासन सहायक पूर्णबहादुर वलीले बताए। नेपालमा दृष्टि गुम्नुको प्रमुख कारणमध्ये मोतियाबिन्दु पनि रहेको उनले जानकारी दिए।
उमेर बढ्दै जाँदा मोतियाबिन्दु देखिनु सामान्य प्रक्रिया भए पनि समयमै परीक्षण गरी आवश्यक उपचार गराउनुपर्ने वलीको भनाइ छ। समयमै शल्यक्रिया नगरेमा समस्या जटिल बन्दै जान सक्ने भएकाले नियमित आँखा परीक्षणमा ध्यान दिन उनले आग्रह गरे।
वडावासीको मागअनुसार निःशुल्क आँखा शिविर आयोजना गरिएको तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरीले बताए। आँखाजस्तो संवेदनशील अङ्गको सुरक्षा र समयमै रोग पहिचानका लागि गाउँस्तरमै सञ्चालन हुने यस्ता स्वास्थ्य शिविर प्रभावकारी हुने उनको भनाइ छ।
वडा कार्यालयको आयोजना तथा नेपाल नेत्र ज्योति सङ्घअन्तर्गत राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। शिविरलाई नर्वेको ‘द नर्वेजियन एसोसिएसन अफ द ब्लाइन्ड एन्ड पार्सियली साइटेड’, ‘एट्लास एलायन्स’ तथा नर्वे सरकारको आर्थिक सहयोग रहेको छ।
तुलसीपुर उपमहानगरपालिका–१२ र १३ मा शिविर सम्पन्न भइसकेको छ। केही दिनमा तुलसीपुर–११ मा पनि शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ। त्यसपछि घोराही उपमहानगरपालिकासहित बबई, शान्तिनगर र दङ्गीशरण क्षेत्रमा समेत आँखा परीक्षण शिविर सञ्चालन गर्ने तयारी छ।
कार्यक्रमअन्तर्गत आगामी डिसेम्बरसम्म १ हजार २०० जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्ने लक्ष्य राखिएको छ। गाउँमै पुगेर सञ्चालन गरिएका यस्ता शिविरले लामो समयदेखि उपचारको पहुँचबाट टाढा रहेका नागरिकलाई आफ्नो आँखाको समस्या पहिचान गराई उपचारको बाटो खोलिदिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment