मन्त्रालय बाँडफाँटकाे असन्तुष्टि: प्रचण्डलाई भेट्न असन्तुष्ट सांसदहरू काठमाडौंमा, बागमती सरकार संकटमा
काठमाडौं । बागमती प्रदेश सरकारको मन्त्रालय बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का असन्तुष्ट प्रदेशसभा सदस्यहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्न मंगलबार काठमाडौं आइपुगेका छन्। मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने तयारी गरिरहँदा सत्तारुढ दलभित्रै यो असन्तुष्टि चर्किएपछि सरकारमाथि ठूलो राजनीतिक संकट उत्पन्न भएको छ।
नेकपाका सांसदहरू गंगानारायण श्रेष्ठ, कृष्णप्रसाद खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठसहितका नेताहरू अध्यक्ष प्रचण्डसँग प्रत्यक्ष छलफल गर्न काठमाडौं पुगेका हुन्। उनीहरूले प्रदेश सरकार गठनका क्रममा भएको मन्त्रालय बाँडफाँट र पार्टी नेतृत्वको भूमिकाप्रति असन्तुष्टि जाहेर गर्दै अध्यक्षसमक्ष आफ्नो धारणा राख्दैछन्।
मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची सोमबार दिउँसो १ बजेका लागि तय भए पनि सत्ता गठबन्धनभित्र सहमति जुट्न सकेको थिएन। असन्तुष्ट सांसदहरू सोमबार हेटौँडा नगई काठमाडौंतर्फ लागेर अध्यक्ष प्रचण्डलाई भेट्ने तयारी गरेपछि बैठक पटक–पटक सारिँदै मंगलबार अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको थियो।
सोमबार दिनभर अध्यक्ष प्रचण्डले असन्तुष्ट सांसदहरूसँग सम्पर्क गर्ने प्रयास गरे पनि उनीहरू सम्पर्कमा आएका थिएनन्। त्यसपछि विश्वासको मत लिने कार्यसूची नै मंगलबारसम्म सारिएपछि उनीहरू सीधै अध्यक्ष प्रचण्डलाई भेट्न पुगेका हुन्। भेटका क्रममा अध्यक्ष प्रचण्डले असन्तुष्ट सांसदहरूलाई तत्काल हेटौँडा फर्केर सरकारको पक्षमा मतदान गर्न आग्रह गरेका छन्। तर, असन्तुष्ट समूहले भने सरकार गठन प्रक्रियामै गम्भीर कमजोरी रहेको भन्दै तत्काल विश्वासको मत दिन कठिन हुने स्पष्ट अडान राखेको बुझिएको छ।
अध्यक्ष प्रचण्डलाई भेटेर दबाब दिने यो रणनीतिले बागमतीमा मुख्यमन्त्री थापाको भविष्यलाई थप अन्योलमा पारेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment