नेपालमा सेरेब्रल पाल्सीबाट पीडित बालबालिकाको सहयोगार्थ नेप्लिज नर्सिङ एसोसिएसन युकेले आयोजना गर्‍यो परोपकारी कार्यक्रम

डिसी नेपाल
१० भदौ २०८३ २१:२२

काठमाडौं। बालबालिकाहरू हिडडुल गर्न नसक्नुका प्रमुख कारणमध्ये सेरिब्रल पाल्सी पनि एक हो। नेपालमा सेरिब्रल पाल्सीबाट पीडित बालबालिकाको संख्या निकै उच्च छ।

उचित हेरचाह र उपचारात्मक सहयोगको साथ, यी बालबालिकाको जीवनको गुणस्तरमा उल्लेखनीय सुधार गर्न सकिन्छ। तिनका आमाबाबुले पनि भावनात्मक, आर्थिक र सामाजिक रूपमा थुप्रै कठिनाइ व्यहोरी रहेका हुन्छन्।

नेपालमा सेरिब्रल पाल्सी भएका बालबालिका र उनीहरूका अभिभावकहरूलाई धेरै बेवास्ता गरिन्छ। नेपालमा सेरिब्रल पाल्सी वास्तविक “लुकेको विपत्ति” हो र उनीहरूको दुर्दशा लगभग वर्णनभन्दा बाहिर छ।

देशको ग्रामीण क्षेत्रहरूमा यो अझ बढी छ। सेरेब्रल पाल्सी पीडित बालबालिकाका लागि स्व-सहायता समूह (एसजीसीपी ) नेपालले सेरिब्रल पाल्सी र नशा सम्बन्धी समस्या भएका बालबालिका र उनीहरूका अभिभावकहरूलाई मदत गरिरहेको छ। यो संस्थाले काठमाडौँमा र होम भिजिट तथा चिकित्सा शिविरहरू मार्फत देशका १८ जिल्लाहरूमा सेवा पुराइरहेको छ।

बेलायतको अल्डर्सटमा आयोजित कार्यक्रममा बरो अफ रसमूरका मेयर पिटर कलमले दीप प्रज्वलन गरी उद्घाटन गरे। कार्यक्रमको सुरुमा हालै पाकिस्तानमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका कृतिमानी पर्वतारोही निर्मल पुर्जा निम्स दाइ लगायत अन्य पर्वतारोहीहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो।

रसमूरका मेयर पिटर कलमले युकेको बहु सांस्कृतिक समाजमा नेपाली तथा गोर्खा समुदायले उल्लेखनिय योगदान पुराएको बताए। उनले अनुशासित, सभ्य र सहृदयी नेपाली नर्सहरुले पुराएको योगदानको प्रशंसा गर्दै यो ’लेगेसी’ नयाँ पुस्तालाई पनि हस्तान्तरण गर्न सुझाव दिए। मेयर कलमलाई नेपाली ढाका टोपी र शल ओढाएर सम्मान गरिएको थियो।

नेप्लिज नर्सिङ एसोसिएसन युकेकी अध्यक्ष रश्मिता दर्लामीले सन् २०१५ देखि एसोसिएसनमा आवद्ध भएको स्मरण गर्दै संस्था अहिले सामाजिक समूहबाट एक व्यावसायिक संस्थाका रूपमा विकास भएको बताइन्। ‘हाम्रो वास्तविक उपलव्धि नै असहाय र सेवाको आवश्यकता भएकाहरूको सेवा गर्नु हो। ’एकपटकको नेपाली सधैंको नेपाली, एकपटकको नर्स सधैंको नर्स,’ यो विरासतलाई निरन्तरता दिन हामीलाई थप नर्सहरूको साथ चाहिएको छ,’ उनले भनिन्।

सेरेब्रल पाल्सीबारे सचेतना फैलाउन ’सेल्फ हेल्प ग्रुप फर सेरेब्रल पाल्सी नेपाल’ को वृत्तचित्र प्रदर्शन गरिनुका साथै अध्यक्ष रश्मिता दर्लामीद्वारा लिखित तथा निर्देशित जनचेतना मूलक नाटक मञ्चन साथै एनएनए युकेका कार्य समिति सदस्यहरु दृरा बिबिध सांस्कृतिक कार्यक्रम गरिएको थियो।

नेप्लिज नर्सिङ्ग एसोसिएसन युकेले जुम्लामा मितेरी बर्थिङ सेन्टर स्थापना गरेको छ भने नेपालमा महाभूकम्प र कोभिड महामारीको बेला पनि सघाएको थियो। यस बाहेक संस्थाले बेलायतका विभिन्न स्थानमा भूतपूर्व गोर्खा लगायत नेपाली समुदायका लागि स्वास्थ्य शिविरहरु संचालन गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *