रसुवा बाढीका घाइतेमध्ये काठमाडौं ल्याइएका ४२ जनामध्ये ९ जना डिस्चार्ज, ३३ को उपचार जारी
काठमाडौं— रसुवामा आएको भीषण बाढीमा परेर घाइते भएकामध्ये उपचारका लागि काठमाडौं ल्याइएका ४२ जनामध्ये ९ जना डिस्चार्ज भएका छन्। बाँकी ३३ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत छन्।
नेपाल प्रहरीका अनुसार बिहीबार बिहानसम्म उपचारपछि ९ जना घाइतेलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। अन्य घाइतेको अवस्था हेरेर विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा २३ जना घाइतेलाई उपचारका लागि ल्याइएको थियो। तीमध्ये ४ जना उपचारपछि डिस्चार्ज भएका छन् भने १९ जना अझै उपचाररत छन्।
त्यस्तै, वीर अस्पताल र नर्भिक अस्पतालमा तीन–तीन जना घाइतेको उपचार भइरहेको छ। छाउनीस्थित अस्पतालमा पनि एक जना घाइते उपचाररत रहेका छन्।
रसुवामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले घाइतेको संख्या अझै बढ्न सक्ने सुरक्षा निकायले जनाएको छ। उद्धार गरिएका घाइतेलाई अवस्था हेरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि काठमाडौंलगायतका सुविधासम्पन्न अस्पतालमा ल्याउने क्रम जारी रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment