एक्स्ट्रिम इनर्जीद्वारा बाढीपीडितको उद्धार तथा राहतका लागि १ करोड सहयोग घोषणा
काठमाडौँ — रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक्स्ट्रिम इनर्जी डिस्क्सले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
कम्पनीले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको पीडा न्यूनीकरण गर्दै उद्धार, राहत र पुनःस्थापनाका काममा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
कम्पनीले विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा नागरिकको साथमा उभिनुपर्ने सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै उक्त सहयोग गर्ने निर्णय गरेको जनाएको छ। बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतका साथै पुनःस्थापनाका कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउँदै सहयोग उपलब्ध गराउन लागिएको हो।
एक्स्ट्रिम इनर्जी डिस्क्सले बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, विपद्का क्रममा ज्यान गुमाउनेहरूप्रति कम्पनीले हार्दिक श्रद्धाञ्जली अर्पण गरेको जनाएको छ।
विपद्को समयमा आफ्नो ज्यानको जोखिम मोलेर उद्धार तथा राहत कार्यमा निरन्तर खटिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित सरकारी र गैरसरकारी निकायको योगदानप्रति पनि कम्पनीले उच्च सम्मान व्यक्त गरेको छ।
कम्पनीले सामाजिक उत्तरदायित्वलाई आफ्नो महत्वपूर्ण प्राथमिकताका रूपमा आत्मसात् गर्दै आएको उल्लेख गर्दै मुलुक र नागरिकले सामना गर्नुपर्ने कठिन तथा संकटपूर्ण परिस्थितिमा नागरिक र समुदायको साथमा उभिँदै आएको जनाएको छ। आगामी दिनमा पनि देश र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment