बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि २० हेलिकप्टर स्ट्यान्डबाइ, १० वटा परिचालनमा
काठमाडौं । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन २० वटा हेलिकप्टर स्ट्यान्डबाइ अवस्थामा राखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टर (आरसीसी) मार्फत बिहीबार बिहान साढे ६ बजेदेखि ती हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको हो ।
बाढीग्रस्त क्षेत्र आसपास यसअघि नै थप १० वटा हेलिकप्टर परिचालन भइसकेका छन् । प्रभावित क्षेत्रमा तत्काल उद्धार गर्नुपर्ने अवस्था आएमा स्ट्यान्डबाइमा राखिएका हेलिकप्टरसमेत आवश्यकताअनुसार परिचालन गरिने जनाइएको छ ।
उद्धार तथा राहत कार्यलाई व्यवस्थित बनाउन प्रधानमन्त्री कार्यालयस्थित हटलाइन सेन्टर, गृह मन्त्रालय तथा विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा उद्धार आवश्यक पर्ने क्षेत्रको पहिचान र प्राथमिकता निर्धारण गरिनेछ । त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को निर्देशनअनुसार सम्बन्धित क्षेत्रमा हेलिकप्टर परिचालन गरिने व्यवस्था मिलाइएको छ ।
बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा फसेका नागरिकको उद्धार, राहत सामग्री पुर्याउने तथा तत्काल आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिएको छ । उद्धारका लागि प्राप्त सूचनालाई सम्बन्धित निकायसँग समन्वय गरी आवश्यकताका आधारमा तत्काल टोली तथा हवाई साधन परिचालन गरिने बताइएको छ ।
एनडीआरआरएमएले बाढी तथा अन्य विपद्का कारण उद्धार वा राहत आवश्यक परेका व्यक्तिले तत्काल जानकारी गराउन आग्रह गरेको छ । प्रभावित नागरिकले प्राधिकरणको आधिकारिक पोर्टल https://setu.ndrrma.gov.np/ मार्फत उद्धार तथा राहतसम्बन्धी माग विवरण पठाउन सक्नेछन् ।
प्राधिकरणका अनुसार प्राप्त सूचनाका आधारमा सम्बन्धित सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यलाई द्रुत बनाइनेछ । बाढी प्रभावित क्षेत्रमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै उद्धारका लागि थप हवाई साधनसमेत तयारी अवस्थामा राखिएको जनाइएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment