मौवाखोलादेखि गोलाघाटसम्म शव खोजीमा सुरक्षा निकाय परिचालन
नारायणगढ (चितवन)। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएका ६४ शव चितवनका त्रिशूली र नारायणी नदी किनारका विभिन्न स्थानमा फेला परेका छन् । बाढीपछि नदीमा बगेर आएका शव अझै फेला पर्ने क्रम जारी रहेकाले सङ्ख्या बढ्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार भोटेकोशी नदीमा आएको बाढीपछि चितवनमा सम्भावित जोखिमको आँकलन गर्दै जिल्ला सुरक्षा समितिमार्फत पूर्वतयारी तथा सतर्कताका कामलाई तीव्रता दिइएको थियो । माथिल्लो तटीय क्षेत्रबाट बाढीले बगाएर ल्याएका शव त्रिशूली र नारायणी नदी किनारका विभिन्न क्षेत्रमा फेला परिरहेका छन् ।
फेला परेका शवको पहिचान, कानुनी प्रक्रिया तथा ससम्मान व्यवस्थापनका लागि जिल्ला सुरक्षा समितिले सरकारी तथा निजी स्वास्थ्य संस्था र सम्बन्धित अन्य निकायसँग समन्वय गरी काम गरिरहेको प्रजिअ अर्यालले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका प्रत्येक शवको फोटोग्राफी, जिपिएस लोकेसन रेकर्ड, मुचुल्का तथा नम्बरिङ गरी शव ब्यागमा ट्याग लगाउने गरिएको छ । त्यसपछि शवलाई जिल्ला अस्पतालको शवगृहमा स्थानान्तरण गरी पहिचानको प्रक्रिया अघि बढाइएको छ ।
शवको खोजी, पहिचान र व्यवस्थापनका लागि प्रहरीको जनशक्ति तथा उपलब्ध स्रोतसाधन पूर्ण रूपमा परिचालन गरिएको प्रहरी उपरीक्षक पौडेलले बताए। चितवनमा शववाहन पर्याप्त नभए पनि प्रहरीका सवारीसाधनसहित उपलब्ध स्रोतसाधन प्रयोग गरेर शव व्यवस्थापनको काम भइरहेको उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार जिल्लाका स्वास्थ्य संस्थामा एकैपटक अधिकतम ५० शव राख्न सक्ने क्षमता रहेकाले मर्चरीमा चाप बढेको छ । थप शव फेला परेमा सरकारी तथा निजी स्वास्थ्य संस्थाका शवगृह, शव ब्याग, शीत भण्डारण तथा अन्य उपलब्ध स्रोतसाधन परिचालन गरी व्यवस्थापन गर्ने तयारी गरिएको छ ।
“अहिलेसम्म अस्पतालको मर्चरीमा शव राखिएको छ । थप शव आएमा व्यवस्थापनमा चुनौती हुन्छ । शवको सङ्ख्या बढेमा हामीले कोल्डस्टोरसँग समन्वय गरेर राख्नुपर्ने हुन्छ,” अर्यालले भने।
बाढीमा बेपत्ता भएका तथा बगाएर ल्याइएका शवको खोजीका लागि चितवनको त्रिशूली नदीको मौवाखोला क्षेत्रदेखि नारायणी नदीको गोलाघाटसम्म सुरक्षा निकाय परिचालन गरिएको छ । खोज तथा उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी खटिएका छन् ।
खोजी कार्यमा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा नदी तटीय क्षेत्रका स्थानीयवासीले समेत सहयोग गरिरहेका छन् । जिल्लामा उपलब्ध सबै सुरक्षा संयन्त्रलाई खोजी, उद्धार तथा शव व्यवस्थापनमा परिचालन गरिएको प्रजिअ अर्यालले बताए ।
बाढीले बगाएर ल्याएका ग्यासका सिलिन्डर, काठ, दाउरा वा अन्य सामग्री सङ्कलन गर्न नदी किनारमा भीड नगर्न प्रशासनले आग्रह गरेको छ । त्यस्ता सामग्री खोज्ने क्रममा जोखिम बढ्न सक्ने भन्दै प्रशासनले नदी किनारमा अनावश्यक रूपमा नजान र सामग्री सङ्कलन गरे कानुनबमोजिम कारबाही तथा सामग्री जफत गरिने चेतावनी दिएको छ ।
प्रशासनले बाढीमा फेला परेका शवका विभत्स तस्बिर तथा भिडियो सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा सार्वजनिक नगर्न पनि आग्रह गरेको छ । त्यस्ता सामग्रीले पीडित परिवार तथा सर्वसाधारणमा थप तनाव, त्रास र मनोवैज्ञानिक असर पार्न सक्ने भएकाले शव वा घटनास्थलका संवेदनशील दृश्य सार्वजनिक नगरी नजिकको सुरक्षा निकायलाई तत्काल सूचना दिन आग्रह गरिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment