ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो

डिसी नेपाल
१२ भदौ २०८३ २१:४७

ओखलढुङ्गा। ओखलढुङ्गाका वाम्बूले राई समुदायले आफ्नो मौलिक पर्व ढ्वाङकुम हर्षोल्लासका साथ मनाएका छन्।

जनैपूर्णिमाको अघिल्लो दिनदेखि सुरु भई आजसम्म मनाइने यो चाडको रौनक वाम्बुले राई बस्तीमा देखिएको थियो। विशेष गरी वाम्बूले राई समुदायको बाहुल्यता रहेको जिल्लाको उँबू, मोली, वाक्सालगायत ठाउँमा यो चाड धुमधामका साथ मनाउने गरिन्छ।

वर्षेबाली पाकिसकेपछि पहिला प्रकृति र पितृलाई चढाउनुपर्छ भन्ने मान्यताअनुसार कूल देवता लिब्जू उपोको सामाथानमा विशेष पूजाआजा गर्ने ढ्वाङकुममा चलन रहेको वाम्बूले राई समुदायका शिशी नाक्सो भक्तराज राईले बताए।

यो समुदायले शिशी, सिकारी, बुलु र ढ्वाङकुर्मो नाक्सोमार्फत प्रकृति र पितृलाई कागुनीको भात, कोदोको जाँड, मकैको झुत्ता, काँक्रा, भुटेको मासुलगायत वस्तु चढाउने गर्छन्।

हरेक घरबाट थुन्चेमा विभिन्न सामग्री बोकेर ढ्वाङ्कुमटारमा पुगेपछि घर परिवार र आफन्त भेटघाट तथा नाचगान गरेर रमाइलो गर्ने चलन रहेको छ। ढ्वाङकुम चाडमा खानपान र भेटघाटसँगै मौलिक ढङ्गको रमाइलो हुने गरेको स्थानीय परान राईले जानकारी दिए।

ढ्वाङकुम चाडकै अवसरमा यसवर्ष तीनदिने ढ्वाङकुम महोत्सवसमेत आयोजना गरिएको छ। ढ्वाङकुम चाडलाई अझ बृहत र आकर्षक बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव आयोजक मूल समितिका अध्यक्ष कल्याण राईले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *