टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको सकुशल उद्धार, थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी
काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा बाढी र पहिरोपछि माटोमुनि पुरिएकी एक ६ वर्षीया बालिकालाई सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार साँझ सकुशल उद्धार गरेको छ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोजी एवम् उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले माटोमुनिबाट बालिका रोएको आवाज सुनेपछि तत्काल खोजी तीव्र पारी उनलाई सुरक्षित रूपमा बाहिर निकालेका थिए।
माटोको थुप्रोबाट निकालिएलगत्तै बालिकालाई आपत्कालीन प्राथमिक हेरचाह र न्यानोका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) टिमुरे पुर्याइएको थियो।
बीओपीमा राखिए तापनि बालिकाको स्वास्थ्य अवस्था क्रमशः कमजोर बन्दै गएकाले थप प्रभावकारी उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ।
प्रतिकूल मौसम र रातको समयका कारण तत्काल हेलिकप्टर उडानमा कठिन भए पनि बालिकाको उपचार व्यवस्था सहज बनाउन सुरक्षा निकायले निरन्तर प्रयास गरिरहेको छ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रहरूमा बेपत्ता नागरिकहरूको खोजी एवम् उद्धारका लागि सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायका टोलीहरू रातदिन निरन्तर खटिरहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment