भोटेकोशी बाढी : उद्धारका लागि आयल निगमद्वारा ४० हजार लिटरभन्दा बढी हवाई इन्धन र ग्यास सहयोग

डिसी नेपाल
१३ भदौ २०८३ १७:०६

काठमाडौं। भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितहरूको खोजी, उद्धार तथा राहत कार्यका लागि नेपाल आयल निगमले इन्धन तथा एलपी ग्यास आपूर्तिलाई तीव्रता दिएको छ।

निगमले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै भदौ १० गतेदेखि जारी उद्धार कार्यका लागि हालसम्म ४० हजार ८४० लिटर हवाई इन्धन उपलब्ध गराइसकेको जानकारी दिएको छ।

उद्धार कार्यमा संलग्न हेलिकप्टरहरूको सहज उडानका लागि नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित सेनाको ब्यारेकबाट नियमित रिफ्युइलिङको प्रबन्ध मिलाइएको निगमले जनाएको छ। जसअन्तर्गत भदौ १० गते १२ हजार लिटर, ११ गते १० हजार ८४० लिटर (ट्याङ्कर र हेलिकप्टरमार्फत), १२ गते ९ हजार लिटर र १३ गते ९ हजार लिटर गरी कुल ४० हजार ८४० लिटर हवाई इन्धन पठाइएको हो।

यसैगरी प्रभावित क्षेत्रमा सवारी तथा उद्धार यन्त्रहरूको आवागमन सहज बनाउन निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमार्फत ७२ हजार लिटर पेट्रोल र ६२ हजार लिटर डिजेल वितरण गरिएको छ। सार्वजनिक बिदाका दिनमा समेत मागअनुसार इन्धनको नियमित बिक्री वितरणको व्यवस्था मिलाइएको निगमको भनाइ छ।

खोज तथा उद्धारपछि विभिन्न सेल्टरहरूमा आश्रय लिइरहेका बाढी प्रभावितहरूका लागि खाना पकाउने ग्यासको व्यवस्था समेत गरिएको छ। नेपाल ग्यास उद्योग बालाजुको सहयोगमा नुवाकोटमा २३२ थान र एलपी ग्यास उद्योग संघमार्फत नुवाकोट तथा रसुवाका लागि १५० थान भरिएका सिलिन्डर राहत स्वरूप पठाइएको छ।

विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै निगमले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, राष्ट्रिय विपद्को यस कठिन परिस्थितिमा आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्य निरन्तर जारी राख्ने प्रतिबद्धता निगमले व्यक्त गरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *