धुर्मुस-सुन्तलीको नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’ अमेरिकाबाटै प्रसारण हुने

डिसी नेपाल
१४ भदौ २०८३ ७:०८

नर्थ क्यारोलाइना (अमेरिका)। चर्चित हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले अमेरिकाबाटै नयाँ हास्य सिरियल निर्माण गरेका छन्।

अमेरिकाको नर्थ क्यारोलाइना राज्यका राले, केरी, होली स्प्रिङ्स, हाई पोइन्ट, ग्रिन्सबोरो लगायतका स्थानमा छायांकन गरिएको यस सिरियलको नाम ‘म त मर्छु कि क्या हो’ राखिएको छ।

धुर्मुस सुन्तली मिडियाको ब्यानरमा निर्मित यो सिरियल धुर्मुसको चर्चित संवाद तथा थेगोबाट नामकरण गरिएको हो। यो शृङ्खला हरेक साता शुक्रबार नेपाली समय अनुसार साँझ ८:१५ बजे (अमेरिकामा बिहान १०:३० बजे) धुर्मुस सुन्तली युट्युब च्यानलमार्फत नियमित प्रसारण हुनेछ।

यस सिरियलमा सीताराम कट्टेल र कुञ्जना घिमिरे आफ्नै चर्चित पात्र ‘धुर्मुस’ र ‘सुन्तली’को भूमिकामा देखिनेछन्। उनीहरूकै निर्देशनमा बनेको यस सिरियलमार्फत ‘होस प्रसाद’ र ‘मिस्टर फन्टुस’ जस्ता लोकप्रिय हास्य कार्यक्रमका वरिष्ठ कलाकार तथा निर्देशक मोहन मिश्र लामो समयपछि अभिनयमा फर्किएका छन्।

यसै सिरियलबाट सीताराम र कुञ्जनाकी छोरी सुबिहानी कट्टेलले बाल कलाकारका रूपमा अभिनय यात्रा सुरु गरेकी छन् भने अमेरिकामा बसोबास गर्दै आएका पुराना अभिनेता जीवन लुइँटेल पनि अतिथि भूमिकामा देखिनेछन्।

सिरियलमा दिनेश कार्की, शंकरराज वाग्ले, संयम लामिछाने, मोनिका चौलागाईँ, चुडा धिमाल, धर्म भारती र शुभद्रा आचार्य लगायतका कलाकारहरूको अभिनय रहेको छ। राजु केसीको छायांकन रहेको यस सिरियलमा राजेन्द्र मानन्धरको सम्पादन, प्रकाश पुञ्जको शब्द, राजेन्द्र बज्गाईंको संगीत र आशिष अविरलको गायन रहेको छ।

यो सिरियल केवल मनोरञ्जनमा मात्र सीमित नरही अमेरिकामा बस्ने नेपालीहरूको संघर्ष, सफलता, उपलब्धि र चुनौतीका साथै त्यहाँको जीवनशैली, सामाजिक-सांस्कृतिक परिवेश र प्रवासी जीवनका विविध अनुभवलाई हास्यव्यंग्यात्मक शैलीमा प्रस्तुत गर्न तयार पारिएको छ। अमेरिका सरेपछि नेपाली समुदायले भोग्ने भाषिक तथा सामाजिक चुनौती, पारिवारिक सम्बन्ध, नयाँ पुस्ताको सोच र नेपालीपन जोगाउने प्रयासजस्ता विषयलाई कथावस्तुमा समेटिएको छ।

प्रवासमा रहेर नियमित कला सिर्जना सुरु गर्नु प्रशंसनीय कार्य भएको भन्दै नर्थ क्यारोलाइनाका पुराना चलचित्र निर्माता तथा व्यवसायी माधव ढकालले यस अभियानमा स्थानीय नेपाली समुदायको पूर्ण साथ रहने बताए।

अमेरिका पुगेदेखि नै सीताराम र कुञ्जना विभिन्न विज्ञापन तथा म्युजिक भिडियो निर्माणमा सक्रिय रहँदै आएका छन्। जहाँ रहे पनि आफ्नो कला र सिर्जनालाई निरन्तरता दिन सकिन्छ भन्ने सन्देश दिनका लागि आफूहरूले यो प्रयास गरेको निर्देशक सीताराम कट्टेलले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *