सुदूरपश्चिमका धेरै स्थानमा वर्षा: सतर्कता अपनाउन मौसम कार्यालय र सशस्त्र प्रहरीको आग्रह
सुदूरपश्चिम। हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरै स्थानमा वर्षा भइरहेको छ।
अत्तरियास्थित जल तथा मौसम विज्ञान कार्यालयका अनुसार आजदेखि दुई-तीन दिनसम्म प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।
कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहका अनुसार प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै, तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। हिमाली क्षेत्रमा भने साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको अनुमान गरिएको छ।
यस अवधिमा लगातार पानी पर्नेभन्दा पनि छिनछिनमा पानी पर्ने र घाम लाग्ने हुनसक्ने अनुमान रहेको साहले जानकारी दिए। “प्रदेशका तराई, पहाड र हिमाली क्षेत्रमा मौसम बदली भइरहने अनुमान छ, तर एक-दुई स्थानबाहेक धेरै भारी वर्षाको सम्भावना कमै छ,” साहले भने, “तथापि नदी तटीय क्षेत्र र डुबान हुने होचा स्थानमा बस्ने नागरिकहरूले विशेष सतर्कता अपनाउन आवश्यक छ।”
आज राति हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा भने साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम कार्यालयले जनाएको छ।
यसैबीच सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनीले कैलाली र कञ्चनपुरका बाढी प्रभावित क्षेत्र तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
पहाडका एक-दुई स्थानमा धेरै भारी वर्षा हुने जानकारी प्राप्त भएकाले सोहीअनुसार सतर्क रहन मातहतका युनिटलाई निर्देशन दिइएको बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिगविजय सुवेदीले जानकारी दिए।
पहाडी र तराई क्षेत्रमा हुनसक्ने भारी वर्षालाई दृष्टिगत गरी सूचना प्रवाह गर्नुका साथै विपद् व्यवस्थापनका लागि मातहतका युनिटहरूलाई तयारी अवस्थामा राखिएको सुवेदीले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment