नेपाल लाइफको ‘लीडरशिप एक्सिलेन्स अवार्ड्स २०२६’: १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन गरी नयाँ कीर्तिमान

डिसी नेपाल
१५ भदौ २०८३ १०:१३

काठमाडौं।  नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सव (रजत जयन्ती) को अवसरमा आयोजना गरेको ‘लीडरशिप एक्सिलेन्स अवार्ड्स २०२६’ सम्पन्न गरेको छ।

‘एभरेस्ट इयर – क्लाउड्स एन्ड बियोन्ड’ (Everest Year – Clouds and Beyond) भन्ने मूल नाराका साथ भदौ ३ गतेदेखि काठमाडौँको दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित उक्त कार्यक्रममा देशभरका ६३७ जना उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको थियो।

सञ्चालकहरू कमलेश कुमार अग्रवाल, विमल प्रसाद ढकाल, प्रबिन प्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा सञ्चालक कमलेश कुमार अग्रवालले २५ वर्षको अवधिमा कम्पनीले जीवन बीमा क्षेत्रमा नयाँ उचाइ कायम गरेको बताउँदै आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क (FPI) संकलन गरेर ऐतिहासिक कीर्तिमान रचेको जानकारी दिए। उनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ‘एभरेस्ट इयर – क्लाउड्स एन्ड बियोन्ड’ अभियानमार्फत कम्पनीलाई अझ अगाडि बढाउने मार्गचित्र प्रस्तुत गरे।

अर्का सञ्चालक विमल प्रसाद ढकालले व्यावसायिक अनुशासन, संस्थागत सुशासन, नियामकीय मापदण्ड तथा सम्पत्ति शुद्धीकरण निवारण (AML/CFT) सम्बन्धी नियमहरूको पूर्ण पालना गर्दै पारदर्शी रूपमा सेवा प्रवाह गर्न आग्रह गरे।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गत आर्थिक वर्षलाई ऐतिहासिक वर्षका रूपमा उल्लेख गर्दै आगामी दिनमा डिजिटल रूपान्तरण (Digital Transformation), डाटा-आधारित निर्णय प्रणाली र स्वचालन (Automation) मार्फत ग्राहक सेवालाई थप उत्कृष्ट, आधुनिक र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे।

समारोहमा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई पदक, सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो। साथै, देशभरबाट सर्वोत्कृष्ट स्थान हासिल गर्नेहरूलाई विशेष सम्मानसहित पुरस्कृत गरियो। कार्यक्रम अवधिभर नेतृत्व विकास, रणनीतिक छलफल, प्रेरणादायी सत्र तथा सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिएका थिए।

कम्पनीका अनुसार हालसम्म नेपाल लाइफको जीवन बीमा कोष २८५ अर्ब रुपैयाँ पुगेको छ भने कुल बीमा शुल्क संकलन ३६२ अर्ब रुपैयाँ नाघेको छ। ५५ लाख ७९ हजारभन्दा बढी पोलिसी जारी गरिसकेको यस कम्पनीको मृत्यु दाबी भुक्तानी दर ९९.१३ प्रतिशत रहेको छ। यसका साथै, नेपाल सरकारलाई १७.७१ अर्ब रुपैयाँ कर योगदान गर्दै कम्पनीले राष्ट्रिय अर्थतन्त्रमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *