अमेरिकामा भीषण बाढी, १ जनाको मृत्यु १५ बेपत्ता
काठमाडौं । अचानक आएको भीषण बाढीले पार्कका झोलुङ्गे पुलहरू ध्वस्त पार्नुका साथै दर्जनौँ पदयात्री (हाइकर) तथा क्याम्परहरूलाई विस्थापित गरेपछि अमेरिकाको ग्रान्ड क्यानियन राष्ट्रिय निकुञ्जमा एक जनाको मृत्यु भएको छ भने करिब १५ जना बेपत्ता भएको आशङ्का गरिएको छ।
क्यानियनका अधिकारीहरूले आइतबार राति दिएको जानकारी अनुसार कोलोराडो नदीको ‘क्रिस्टल र्यापिड्स’ नजिकै बाढीका कारण मृत्यु भएका ४६ वर्षीय एक पुरुषको शव फेला परेको छ।
पार्क सेवाले यसअघि बेपत्ता वा सम्पर्कविहीन भएकाहरूको सङ्ख्या २० जना अनुमान गरिएको र त्यो प्रारम्भिक आँकडा मात्रै भएको बताएको छ।
बाढीका कारण राष्ट्रिय निकुञ्जमा पर्यटकहरूलाई खानेपानी आपूर्ति गर्ने मुख्य पाइपलाइनसमेत फुटेकाले त्यहाँ पानीको स्रोत सीमित बन्न पुगेको छ। यसले गर्दा आगामी ‘लेबर डे’ (मजदुर दिवस) को बिदाको पूर्वसन्ध्यामा निकुञ्जमा हुने पर्यटकीय गतिविधिहरू उल्लेख्य रूपमा प्रभावित हुनेछन्।
क्षतिग्रस्त पाइपलाइनले ‘साउथ रिम’ क्षेत्रका सबै सुविधाहरूका लागि पिउने पानी र अग्नि नियन्त्रण प्रणालीमा पानी आपूर्ति गर्दै आएको थियो। यो क्षेत्र पदमार्ग (हाइकिङ ट्रेल), मनोरम दृश्य अवलोकन केन्द्र, होटल तथा आगन्तुक सेवाहरूका लागि प्रमुख मानिन्छ।
राष्ट्रिय निकुञ्ज सेवाले जारी गरेको समाचार विज्ञप्ति अनुसार शनिबार दिउँसो ‘ब्राइट एन्जेल क्यानियन’ र ‘फ्यान्टम र्यान्च’ क्षेत्रमा निरन्तर परेको भारी वर्षापछि यो विनाशकारी बाढी आएको हो।
बेपत्ता भएका मानिसहरू “कि त भित्री क्यानियनको दुर्गम पदमार्गमा थिए वा ‘नोर्थ काइबाब/फ्यान्टम र्यान्च’ क्षेत्र आसपास दिनभरि पदयात्रा गरिरहेका थिए भन्ने अनुमान गरिएको छ,” प्रवक्ता जोएल बायर्डले आइतबार न्युयोर्क टाइम्सलाई बताइन्।
यसबारे थप जानकारीका लागि सीएनएनले क्यानियन प्रशासनसँग सम्पर्क गरेको छ। ग्रान्ड क्यानियन राष्ट्रिय निकुञ्जले एक विज्ञप्ति जारी गर्दै आइतबार दिउँसोसम्म कम्तीमा ६२ जनाको सुरक्षित उद्धार गरिसकिएको जनाएको छ।
बाढी आउँदै गर्दा एक दम्पती आफ्नो कटेज (क्याबिन) तर्फ भागेर ज्यान जोगाउन सफल भएका छन्। “उनीहरूको उद्धार गरिँदै गर्दा, मात्र १५ मिनेटअघि आफूले तरेका पुलहरू बाढीले बगाइसकेको उनीहरूले देखेका थिए,” रेडक्रसका एक प्रवक्ताले सीएनएनको सहयोगी सञ्जाल केटीभीके/केपीएचओ लाई बताए।
ग्रान्ड क्यानियन राष्ट्रिय निकुञ्जका कर्मचारी र एरिजोना सार्वजनिक सुरक्षा विभागको संयुक्त समन्वयमा आइतबार थप उद्धार कार्य सञ्चालन गर्ने योजना बनाइएको थियो।
टोलीहरूले आइतबार ‘नोर्थ काइबाब ट्रेल’ र ब्राइट एन्जेल क्रिकको मुहानदेखि डियर क्रिक न्यारोजसम्म कोलोराडो नदी क्षेत्रमा हेलिकप्टरमार्फत खोजी कार्य गरे पनि बेपत्ता भएका कोही पनि फेला नपरेको बायर्डले टाइम्सलाई बताइन्।
बाढी आउने समयमा सानो समूहसँग पदयात्रामा रहेका डेभिड ग्रेगोरीलाई हेलिकप्टरबाट उद्धार गरी स्थानीय हाइस्कुल लगिएको थियो र पछि रात बिताउनका लागि होटलको कोठा व्यवस्था गरिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment