प्रशान्त महासागरमा ‘करिना’ आँधी तीव्र गतिमा शक्तिशाली बन्दै, जमिनमा तत्काल खतरा नरहेको पुष्टि
मियामी। प्रशान्त महासागरमा विकसित भएको ‘करिना’ नामक आँधी आइतबार तीव्र गतिमा थप शक्तिशाली रूपमा परिणत भएको छ। तटीय क्षेत्रबाट निकै टाढा रहेको र न्यानो समुद्री पानीका कारण लगातार शक्ति सञ्चय गरिरहेको यस आँधीबाट तत्कालका लागि भने जमिनमा कुनै खतरा नरहेको अमेरिकी मौसमविद्हरूले स्पष्ट पारेका छन्।
मियामीस्थित अमेरिकी राष्ट्रिय आँधी केन्द्र (एनएचसी) का अनुसार आइतबार बिहान ‘करिना’ ८० माइल प्रतिघण्टा (१३० किलोमिटर प्रतिघण्टा) को अधिकतम निरन्तर हावाको गतिको साथ श्रेणी-१ को आँधीका रूपमा दर्ता भएको थियो। तर, केही घण्टाको छोटो अवधिमै हावाको गति बढेर १२५ माइल प्रतिघण्टा (२०५ किलोमिटर प्रतिघण्टा) पुगेपछि यो तीव्र रूपमा श्रेणी-३ को शक्तिशाली आँधीमा रूपान्तरण भयो।
सामान्यतया कम्तीमा १११ माइल प्रतिघण्टा (१७८ किलोमिटर प्रतिघण्टा) वा सोभन्दा बढीको अधिकतम निरन्तर हावाको गति पुगेका आँधीलाई श्रेणी–३ वा सोभन्दा माथिको अति शक्तिशाली आँधी मान्ने गरिन्छ। मौसमविद्हरूका अनुसार आगामी एक-दुई दिनको अवधिमा ‘करिना’ अझै बढी शक्तिशाली बन्दै जाने सम्भावना रहेको छ।
आइतबारको स्थितिअनुसार ‘करिना’ मेक्सिकोको बाजा क्यालिफोर्निया प्रायद्वीपको दक्षिणी छेउबाट करिब ९६० माइल (१,५४५ किलोमिटर) पश्चिम–दक्षिणपश्चिम दूरीमा अवस्थित थियो। यो हाल ९ माइल प्रतिघण्टा (१५ किलोमिटर प्रतिघण्टा) को गतिमा पश्चिमतर्फ अगाडि बढिरहेको छ र पूर्वानुमान अनुसार यो प्रशान्त महासागरको थप भित्री भागतर्फ नै प्रवेश गर्ने अपेक्षा गरिएको छ।
आँधी केन्द्रका अनुसार ‘करिना’ जमिनबाट धेरै टाढै रहने सम्भावना रहे पनि यसका कारण पैदा हुने ठूला र उग्र छालहरूले दक्षिणपश्चिमी मेक्सिको तथा बाजा क्यालिफोर्निया प्रायद्वीपका तटीय क्षेत्रहरूमा जोखिमपूर्ण समुद्री छालका साथै खतरनाक ‘रिप करेन्ट’ उत्पन्न गराउन सक्छ। यद्यपि, हालसम्म कुनै पनि तटीय क्षेत्रका लागि सतर्कता वा औपचारिक चेतावनी जारी गरिएको छैन।
यसैबीच, प्रशान्त महासागरमै रहेको ‘लोवेल’ नामक अर्को उष्णकटिबङ्धीय आँधी हाल हवाईको हिलो क्षेत्रबाट करिब ९८५ माइल (१,५८५ किलोमिटर) पूर्व-दक्षिणपूर्वमा रहेको छ। यसको अधिकतम निरन्तर हावाको गति ५० माइल प्रतिघण्टा (८५ किलोमिटर प्रतिघण्टा) मापन गरिएको छ र यसबाट पनि तत्काल जमिनमा कुनै खतरा नरहेको मौसमविद्हरूले बताएका छन्। पूर्वानुमान अनुसार ‘लोवेल’ सोमबार राति वा मङ्गलबारसम्ममा अझ शक्तिशाली आँधीका रूपमा परिणत हुन सक्ने सम्भावना छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment