विश्वमा बढ्दो तनाव र ध्रुवीकरणबीच असंलग्न आन्दोलनको महत्त्व अझ बढेको नेपालको ठहर
काठमाडौं। बेलग्रेडमा आयोजित असंलग्न आन्दोलन (NAM) को प्रथम शिखर सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष उच्चस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलका नेता एवम् परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले सम्बोधन गरेका छन्।
सम्बोधनका क्रममा सहसचिव ढकालले विश्व थप जटिल बन्दै गएको र बहुविध संकटहरूसँग जुधिरहेको वर्तमान परिप्रेक्ष्यमा असंलग्न आन्दोलन एक महत्त्वपूर्ण मार्गदर्शकका रूपमा रहेको बताए। विश्वमा पुनः द्वन्द्व, तनाव, ध्रुवीकरण र विभाजन बढ्दै गएकाले नाम (NAM) लाई नयाँ ढङ्गले पुनर्जागृत र सशक्त बनाउनुपर्ने आवश्यकता उनले औंल्याए।
नेपालले हतियारको होडबाजी, आर्थिक असमानता र डिजिटल विभाजन जस्ता विश्वव्यापी चुनौतीहरू सम्बोधन गर्न असंलग्न आन्दोलनलाई सधैं एक महत्त्वपूर्ण मञ्चका रूपमा लिँदै आएको उन स्पष्ट पारे।
न्यायपूर्ण, दिगो र शान्तिपूर्ण विश्व निर्माणका लागि असंलग्न आन्दोलनका सिद्धान्तहरूमा एकताबद्ध भई बहुपक्षीयता तथा अन्तर्राष्ट्रिय कानुनको पालनालाई सुदृढ बनाउन उनले सदस्य राष्ट्रहरूलाई आह्वान गरे।
सम्मेलनमा नाम (NAM) का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख, परराष्ट्रमन्त्री तथा उच्च प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकका क्रममा सर्बियाका परराष्ट्रमन्त्री मार्को द्युरिचले नेपालमा हालै आएको विनाशकारी बाढी पहिरोप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार, जनता तथा पीडित परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका थिए।
भेटवार्ताका क्रममा सहसचिव ढकालले अङ्गोलाका विदेशमन्त्री तेते एन्तोनियोसँग द्विपक्षीय तथा बहुपक्षीय सहकार्यका विषयमा छलफल गरे। त्यसैगरी, उनले साउदी अरेबियाका सहायक विदेशमन्त्री वालिद ए. एम. अलखेरेजीसँग द्विपक्षीय हितका विषयमा कुराकानी गरे।
ढकालले सर्बियाका कृषि, वन तथा जल व्यवस्थापन मन्त्रीका अन्तर्राष्ट्रिय मामिला सल्लाहकार आन्द्रेज सिभिजानोभिकसँग भेट गरी नेपाल र सर्बियाबीच विशेष गरी कृषि र वन क्षेत्रमा सहकार्य बढाउने विषयमा विचार आदानप्रदान गरे। यसअघि उनी सर्बियाका राष्ट्रपति अलेक्जान्दर भुचिचद्वारा आयोजित आधिकारिक रात्रिकोभोजमा समेत सहभागी भएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment