टिकटक ‘भ्युज’ र ‘फलोअर्स’को विवादमा दिदीद्वारा बहिनीको हत्या
काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तस्थित गुजराँवाला जिल्लामा दुई दिदीबहिनीहरूबीच टिकटकको ‘भ्युज’लाई लिएर सुरु भएको सामान्य विवाद हत्यामा परिणत भएको छ।
लद्धेवाला वडैच प्रहरीले किशोरीहरूका बुबाको किटानी जाहेरीका आधारमा मुद्दा दर्ता गरी १५ वर्षीया जुबिया मनाहिलको हत्या गरेको अभियोगमा १८ वर्षीया दिदीलाई पक्राउ गरेको छ।
लद्धेवाला वडैच प्रहरी स्टेशनका एसएचओ मोहम्मद अफजलले बीबीसी उर्दूलाई दिएको जानकारी अनुसार अभियुक्तबाट हत्यामा प्रयोग गरिएको हतियार बरामद गरिएको छ।
जाहेरी दिने अब्दुल शकुर खान अभियुक्त र मृतक दुवैका बुबा हुन्। पेसाले सवारी चालक रहेका उनका ६ छोरी र एक छोरा छन्।
जाहेरी अनुसार उनको घरमा पाहुना आएका थिए र परिवारका सबै जना आँगनमा बसेर कुराकानी गरिरहेका बेला अचानक छतबाट होहल्ला सुनिएको थियो। परिवारका सदस्यहरू छतमा पुग्दा दुवै दिदीबहिनीहरू ‘आपसमा आर्थिक लेनदेनलाई लिएर झगडा गरिरहेका’ भेटिएका थिए।
“यसै क्रममा जेठी छोरीले भान्सामा राखिएको चक्कु उठाएर जुबियाको ढाडमा प्रहार गरिन्। चक्कु लागेर उनी गम्भीर घाइते भई भुइँमा ढलिन्,” जाहेरीमा उल्लेख छ।
जाहेरीमा थप भनिएको छ, “हामी परिवारका सबै जनाले जुबियालाई प्रारम्भिक उपचार दिने निकै प्रयास गर्यौँ, तर अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भयो।”
प्रहरीले तयार पारेको प्रारम्भिक प्रतिवेदनले घटनाको मुख्य कारणबारे थप खुलाएको छ।
एसएचओ मोहम्मद अफजलले वरिष्ठ प्रहरी अधिकारीहरूलाई बुझाएको प्रतिवेदनमा दुवै दिदीबहिनीहरू टिकटकमा भिडियो बनाउने गरेको र उनीहरूबीचको झगडाको मुख्य कारण पनि यही सामाजिक सञ्जाल बनेको दाबी गरिएको छ।
रिपोर्ट अनुसार, “झगडाका क्रममा अभियुक्तले आफ्नै बहिनी जुबिया मनाहिल उर्फ आयशाको ढाडमा धारिलो हतियार प्रहार गरी हत्या गरेकी हुन्।”
एसएचओ मोहम्मद अफजलले नियन्त्रणमा लिइएकी अभियुक्तको प्रारम्भिक बयान दर्ता गरिएको बीबीसी उर्दूलाई बताए।
बयान अनुसार, “मृतक (बहिनी) का फलोअर्स धेरै थिए भने अभियुक्तका फलोअर्स थोरै थिए। बहिनीले आफ्ना फलोअर्स चोर्ने गरेको आरोप दिदीको थियो, जसका कारण उनीहरूबीच झगडा भई स्थिति अनियन्त्रित बनेको थियो।”
यद्यपि अभियुक्तका आफन्त गुलाम रसूल भने दुवै दिदीबहिनीहरू आर्थिक रूपमा आत्मनिर्भर बन्नका लागि टिकटकमा भिडियो बनाउन थालेको बताउँछन्।
“दुवै दिदीबहिनीहरू आज्ञाकारी र आमाबाबुको कुरा मान्ने खालका थिए। उनीहरू आफ्नै खुट्टामा उभिन चाहन्थे, त्यसैले अक्सर ‘फूड ब्लगिङ’ गर्थे र विभिन्न सामाजिक सञ्जालमा सक्रिय रहन्थे,” उनले भने।
घटनाका जाहेरीकर्ता अब्दुल शकुर आफ्नी जेठी छोरीलाई कडा सजाय दिलाउन चाहन्छन्।
उनले आफ्नी जेठी छोरीलाई आफैँ प्रहरीको जिम्मा लगाएको र अब उनको तर्फबाट ‘मुद्दाको पैरवी नगर्ने’ बीबीसी उर्दूलाई बताए।
“जसले मेरो हाँस्दै-खेल्दै गरेको घर बर्बाद बनाइदियो, अब उनीसँग मेरो कुनै सम्बन्ध रहेन,” उनले भने।
फौजदारी कानुनका विज्ञ अधिवक्ता शेख उस्मान पाकिस्तानको कानुन अनुसार “हिरासतमा लिइएकी अभियुक्तलाई उनको पक्षमा पैरवी गर्ने कुनै आफन्त वा निजी वकिल नभएकै आधारमा मात्रै वकिलविहीन छाड्न नमिल्ने” बताउँछन्।
शेख उस्मानले संविधान र कानुनले अभियुक्तलाई वकिलमार्फत आफ्नो बचाव गर्ने अधिकार दिएको बीबीसी उर्दूलाई बताए।
“यदि कोही व्यक्ति जेलमा छ, उसका परिवारका सदस्यहरू उपलब्ध छैनन् वा उनीसँग वकिल छैन भने अदालतले यस कुरालाई बेवास्ता गर्दैन। अभियुक्तलाई सरकारी खर्चमा पैरवी गर्ने सरकारी वकिल उपलब्ध गराइन्छ,” उनले भने।
उनका अनुसार पञ्जाबमा ‘फ्री लिगल एड कमिटी’ ले पनि काम गरिरहेको छ, जसमा पञ्जाब बार काउन्सिल र जिल्ला बार एसोसिएसनका वकिलहरू संलग्न छन्। असहाय कैदीले सम्बन्धित जेल प्रमुखलाई निवेदन दिन सक्छन्, त्यसपछि उक्त निवेदन वकिलकहाँ पठाइन्छ।
पाकिस्तानमा डिजिटल मिडियाबारे अनुसन्धान गरिरहेका अरहम शफीले बीबीसी उर्दूलाई भने, “नयाँ पुस्ता टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युबबाट पैसा कमाउने कलामा अभ्यस्त भइसकेका छन् र यो उनीहरूका लागि आम्दानीको सहज माध्यम बनेको छ।”
“यसैका कारण युवा युवतीहरू सामाजिक सञ्जालमा बढीभन्दा बढी फलोअर्स बनाउन र भ्युज हासिल गर्न तल्लीन देखिन्छन्,” उनले थपे।
अरहम शफीका अनुसार टिकटकले पाकिस्तानमा आफ्नो मनिटाइजेशन कार्यक्रम अन्तर्गत सीधै भुक्तानी गर्दछ।
“जसको टिकटक एकाउन्ट मनिटाइज भएको छ, उनीहरूले एक हजार भ्युजमा ४० सेन्टदेखि एक डलरसम्म पाउँछन्। यसको सीधा अर्थ दश लाख भ्युजमा ४०० देखि एक हजार डलरसम्म कमाउन सकिन्छ, जुन पाकिस्तानी रुपैयाँमा ठूलो रकम हुन आउँछ,” उनले भने।
अरहम शफीले अगाडि भने, “पाकिस्तानमा प्रायः मानिसहरू अमेरिका वा बेलायतमा दर्ता भएका एकाउन्टहरू प्रयोग गर्छन्, किनभने त्यसबाट बढी भुक्तानी पाइन्छ। पाकिस्तानको वर्तमान आर्थिक स्थिति सबैका सामु सर्वविदितै छ।”
“परम्परागत रोजगारीको अभावका कारण सामाजिक सञ्जाल पार्ट-टाइम वा फुल-टाइम आम्दानीको राम्रो माध्यम बनेको छ। टिकटकबाट धन र प्रसिद्धि दुवै मिल्छ। तर यो सबै खेल फलोअर्स र भ्युजकै हो,” उनले भने।
No ads found for this position


डिसी नेपाल
Facebook Comment