एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
काठमाडौँ। एसीसी पुरुष प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। मलेसियाको बाङ्गीस्थित युकेएम क्रिकेट ओभलमा सम्पन्न समूह चरणको दोस्रो खेलमा नेपालले आयोजक मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो विजयी यात्रा जारी राखेको हो।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मलेसिया नेपाली बलरहरूको घातक र कसिलो बलिङसामु ३२.३ ओभरमा मात्र १०३ रनमा अलआउट भएको थियो। मलेसियाका लागि सायेद अजिजले सर्वाधिक ३० रन र अकिल वाहिदले २४ रन जोड्नुबाहेक अन्य ब्याटरहरूले सम्झिनयोग्य योगदान दिन सकेनन्।
नेपालका लागि मध्यम गतिका बलर करण केसीले ७.३ ओभरमा २ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिए। त्यस्तै, स्पिनर ललित राजवंशीले २ विकेट तथा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीले १-१ विकेट हात पारेका थिए।
मलेसियाले प्रस्तुत गरेको १०४ रनको सहज लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेट गुमाएर १०६ रन बनाउँदै भेट्टायो। नेपालको जितमा युवा ब्याटर अर्जुन कुमालले ६८ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक अविजित ४५ रनको योगदान दिए।
त्यस्तै, ईशान पाण्डेले २० रन, रोहित पौडेलले १० रन र दिपेन्द्र सिंह ऐरीले अविजित १२ रन बनाए। मलेसियाका लागि विरनदीप सिंह, आरिफ उल्लाह र प्रसान्त मधूकरले १-१ विकेट लिए।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो। पहिलो खेलमा बहराइनलाई मात्र ८७ रनमा अलआउट गर्दै ८८ रनको लक्ष्य २१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको नेपालले दोस्रो खेलमा पनि उस्तै उत्कृष्ट प्रदर्शन दोहोर्याएको छ। लगातार दोस्रो जितसँगै नेपालले समूह चरणमा आफ्नो शीर्ष स्थानको दाबीलाई अझ बलियो बनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment