बाढीपीडितका तस्वीर-भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह

डिसी नेपाल
१९ भदौ २०८३ १३:०३

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न सञ्चारमाध्यम तथा पत्रकारहरूलाई आग्रह गरेका छन्।

भोटेकोशी बाढीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी, बालबालिका तथा आफन्त गुमाएका व्यक्तिहरूले आश्रय लिइरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले उनीहरूको व्यक्तिगत विवरण, तस्वीर तथा भिडियो सहमतिबिना सार्वजनिक नगर्न अनुरोध गरे।

विपद्को वास्तविकता उजागर गर्नु सञ्चारमाध्यमको दायित्व भए पनि पीडितको आत्मसम्मान र मानसिक संवेदनशीलताको ख्याल राख्नु झनै महत्त्वपूर्ण हुने उनको भनाइ छ।

उनले सम्बन्धित निकायको समन्वयविना होल्डिङ सेन्टरमा प्रवेश नगर्न, राहत तथा उद्धारमा अवरोध नपुर्‍याउन र आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन आग्रह गरे।

मन्त्रालयले अपुष्ट, कपोलकल्पित, एआई निर्मित भ्रामक सामग्री तथा शव वा भयावह अवस्थाका दृश्य सामाजिक सञ्जालमा पोस्ट वा रिपोस्ट नगर्नसमेत विशेष सजग गराएको छ।

यसैबीच, बाढीप्रभावित बालबालिकाको असहाय अवस्था देखिने तस्वीर-भिडियो सार्वजनिक भइरहेकोप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ। काउन्सिलका अनुसार यस्ता सामग्री सम्प्रेषण हुनु ‘बालमैत्री सञ्चार निर्देशिका, २०७३’ को मर्मविपरीत हो।

आचारसंहिता विपरीतका सामग्रीमाथि निगरानी बढाइएको र त्यस्ता सामग्री हटाउन निर्देशन दिँदै कारबाही प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ।

विपद्को समयमा समाचारको प्रभाव बढाउने नाममा पीडितको दुःखलाई अतिरञ्जित नगरी तथ्यपरक र जिम्मेवार सूचना मात्र प्रवाह गर्न सरकार तथा प्रेस काउन्सिलले आमसञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आह्वान गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *