अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

डिसी नेपाल
२१ भदौ २०८३ १०:५२

बाजुरा। गएरातिको अविरल वर्षाका कारण बाजुरा जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा ठूलो क्षति पुगेको छ। वर्षासँगै खसेको पहिरोले सदरमुकाम जोड्ने साँफे-मार्तडी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडकखण्डअन्तर्गत कारागार क्षेत्र, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँध तथा बडीमालिका नगरपालिका-८ को राप्का र ६ को जडाङ्गामा पहिरो खस्दा यातायात सेवा ठप्प बनेको छ।

बडीमालिका-९ का वडाध्यक्ष सूर्य किरण वि.कका अनुसार वर्षासँगै आएको पहिरोले मीन बहादुर थापाको भैँसीगोठ पुरेको छ भने वडा नम्बर ८ को गडखेतमा तीनवटा घर पूर्ण रूपमा क्षति भएका छन्।

यस्तै, बडीमालिका-६ स्थित वीरेखोलामा आएको बाढीका कारण २२ भन्दा बढी परिवार विस्थापित भएका छन्। कार्यवाहक वडाध्यक्ष परे बडुवालका अनुसार बाढीबाट वीरेखोलाका कुल ४१ परिवार प्रभावित भएका छन्। मानवीय क्षति नभए पनि स्थानीय कृषकका धानबाली बाढीले बगरमा परिणत गरिदिएको छ।

वर्षाका कारण सदरमुकाम मार्तडी बजार क्षेत्रका ढल फुटेर सडक अस्तव्यस्त बनेको छ भने जिल्लाभर विद्युत् सेवासमेत अवरुद्ध भएको छ। वर्षाले पुर्‍याएको क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *