अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित, २२ हजारभन्दा बढी यात्रु अलपत्र
Travelers walk past an information board showing disrupted flights at Soekarno-Hatta International Airport in Tangerang, Indonesia, Sunday, Sept. 6, 2026. (AP Photo/Tatan Syuflana)
जकार्ता। इन्डोनेसियाको प्रसिद्ध अनाक क्राकाताउ ज्वालामुखीमा आइतबार बिहान विस्फोट भएपछि निस्किएको ठूलो परिमाणको खरानीका कारण राजधानी जकार्तास्थित सोकार्नो-हाट्टा अन्तरराष्ट्रिय विमानस्थलका उडानहरू अस्थायी रूपमा रद्द तथा प्रभावित भएका छन्।
इन्डोनेसियाको भू-गर्भ तथा ज्वालामुखीसम्बन्धी निकायका अनुसार सुन्डा जलसन्धि क्षेत्रमा अवस्थित अनाक क्राकाताउमा बिहान ३:५३ बजे करिब ३० सेकेन्डसम्म शक्तिशाली विस्फोट भएको थियो। निगरानी क्यामेरामा विस्फोटसँगै लाभाको ज्वाला प्रस्ट देखिएको थियो।
विस्फोटका कारण हालसम्म कुनै मानवीय क्षतिको विवरण आएको छैन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने आदेश पनि जारी गरिएको छैन। यद्यपि, स्थानीय बासिन्दा तथा पर्यटकलाई सक्रिय क्रेटरबाट कम्तीमा तीन किलोमिटर टाढा रहन चेतावनी दिइएको छ।
विस्फोटपछि निस्किएको खरानी जकार्ता, बान्टेन, पश्चिम जाभा तथा सुमात्राको लाम्पुङ क्षेत्रसम्म फैलिएको छ।
२०९ उडान प्रभावित, २२ हजार ८ सय यात्रु मारमा
ज्वालामुखीय खरानीका कारण सोकार्नो–हाट्टा अन्तरराष्ट्रिय विमानस्थलले आइतबार बिहान ५:३० देखि ९:३० बजेसम्मका लागि उडान सेवा अस्थायी रूपमा बन्द गरेको थियो। जसका कारण उडान रद्द र ढिलाइ भई विमानस्थलमा यात्रुको अत्यधिक चाप बढेको छ।
विमानस्थल अधिकारीहरूका अनुसार उडान स्थगन हुँदा करिब २०९ उडान र २२ हजार ८०० जना यात्रु प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। प्रभावित उडानहरूमा दक्षिण सुलावेसीको मकासार जाने व्यस्त आन्तरिक मार्ग तथा सिंगापुर जाने अन्तरराष्ट्रिय उडान प्रमुख छन्।
यस्तै हङकङ, सिड्नी, एम्स्टर्डम, सोल, दोहा र क्वालालम्पुरतर्फका अन्तरराष्ट्रिय उडानहरू रद्द, ढिलाइ वा तालिका परिवर्तन भएका छन्। लाम्पुङ, बाली र सुराबायाका केही आन्तरिक उडानसमेत रद्द गरिएका छन् भने कतिपयलाई अन्य विमानस्थलतर्फ मोडिएको छ।
रातभर विमानस्थलमा पार्क गरिएका करिब १७० वटा विमान एप्रोनमै रोकिएका थिए।
सुरक्षालाई पहिलो प्राथमिकता
नागरिक उड्डयन विभागका महानिर्देशक लुकमान एफ लाइसाले उडान सञ्चालनमा यात्रुको सुरक्षा नै पहिलो प्राथमिकता भएको बताएका छन्। एयरलाइन्सहरूले सेवा पुनः सुचारु गर्ने प्रयास गरिरहे तापनि उडान तालिकामा थप ढिलाइ वा परिवर्तन हुन सक्ने चेतावनी उनले दिएका छन्।
अधिकारीहरूले यात्रुलाई घरबाट निस्कनुअघि सम्बन्धित एयरलाइन्ससँग उडानको पछिल्लो अवस्थाबारे बुझ्न र अति आवश्यक नभई विमानस्थल नगर्न आग्रह गरेका छन्।
इन्डोनेसियाको नागरिक उड्डयन महानिर्देशनालयले विमानस्थल, एयरलाइन्स, हवाई नेभिगेसन सेवा र मौसम विज्ञान निकायसँग निरन्तर समन्वय गरी अवस्थाको निगरानी गरिरहेको छ।
१५ हजार मिटर उचाइसम्म पुग्यो खरानीको बादल
इन्डोनेसियाको ज्वालामुखी एजेन्सी र अष्ट्रेलियाको डार्विन ज्वालामुखी खरानी सल्लाहकार केन्द्रले भूउपग्रहबाट प्राप्त तस्बिरका आधारमा खरानीका दुईवटा ठुला बादल पहिचान गरेका छन्।
जसमा पहिलो खरानीको बादल उत्तरपूर्वतर्फ सर्दै करिब २० हजार फिट (६,१०० मिटर) उचाइसम्म पुगेको थियो, जसले जकार्ता, बान्टेन र पश्चिम जाभाका केही क्षेत्रमा असर पारेको छ।
अर्को खरानीको बादल भने करिब ५० हजार फिट (१५,२०० मिटर) उचाइसम्म पुगेर पश्चिम तथा उत्तरपश्चिमतर्फ फैलिएको थियो। यसले बान्टेन, लाम्पुङ र बेङ्कुलु प्रान्तसहित दक्षिणी सुन्डा जलसन्धि तथा सुमात्राको पश्चिमतर्फको हिन्द महासागर क्षेत्रलाई प्रभावित बनाएको छ।
अनाक क्राकाताउको इतिहास
‘क्राकाताउको सन्तान’ मानिने अनाक क्राकाताउ सन् १८८३ को विनाशकारी क्राकाताउ विस्फोटपछि बनेको ज्वालामुखी टापु हो।
सन् २०१८ मा यो ज्वालामुखी विस्फोट हुँदा पानीमुनि गएको पहिरोले ठूलो सुनामी निम्त्याएको थियो, जसमा परेर जाभा र सुमात्रामा कम्तीमा ४३० जनाको मृत्यु भएको थियो।
वैज्ञानिकहरूका अनुसार सन् २०१८ को उक्त घटनामा ज्वालामुखीको दक्षिणपश्चिमी ढलानको ठूलो हिस्सा समुद्रमा खस्दा ठूलो मात्रामा पानी विस्थापित भएको थियो।
अनाक क्राकाताउ हाल चार तहको चेतावनी प्रणालीमध्ये दोस्रो उच्च सतर्कता तहमा रहेको छ। निरन्तरका विस्फोटका कारण यो टापु अहिले आफ्नो पुरानो आकारको करिब एक चौथाइमा सीमित हुन पुगेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment