‘डिस्पोजेबल’ कपडा लगाउने ट्रेन्ड बढ्दै, वातावरणविद्‌को चिन्ता

डिसी नेपाल
२१ भदौ २०८३ १४:२२

काठमाडौं । यस गृष्मऋतुमा यात्राका क्रममा एक पटक मात्र प्रयोग गरिने अर्थात् ‘डिस्पोजेबल’ कपडा लगाउने ट्रेन्ड चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरूमाझ निकै लोकप्रिय बनेको छ। यद्यपि, वातावरणमा पार्ने नकारात्मक प्रभावलाई लिएर यसको तीव्र आलोचना भइरहेको छ।

सामाजिक सञ्जालमा हालै ‘डिस्पोजेबल क्लोथिङ’ शब्द तीव्र रूपमा भाइरल बनेको छ। एक सञ्जाल प्लेटफर्ममा यस ह्यासट्यागले ६८ लाखभन्दा बढी ‘भ्युज’ र १ लाख ३५ हजारभन्दा बढी छलफलहरू आकर्षित गरेको छ।

मानिसहरूले आफ्ना भ्रमणका क्रममा ‘डिस्पोजेबल’ कपडा प्रयोग गरेका अनुभवहरू सेयर गर्दै यसलाई किफायती विकल्पका रूपमा चित्रण गरेका छन्। एक महिलाले आफूले सात दिनको भ्रमणका लागि पाँच जोडी कपडा किनेको र त्यसका लागि कुल २००० युआन (करिब ३० अमेरिकी डलर) भन्दा बढी खर्च नभएको बताएकी छन्। ती महिलाको यात्रापछि ती कपडाहरू आफूसँगै राख्ने कुनै मनसाय थिएन।

प्रायः यस्ता ‘डिस्पोजेबल’ पोसाकहरू सामाजिक सञ्जालमा राम्रो देखिनका लागि मात्र डिजाइन गरिएका हुन्छन्। जसमा रङ्गीचङ्गी लामो फ्रक, गाउन, बर्साती ओभरकोट जस्ता कपडाहरू पर्दछन्, जसलाई दैनिक जीवनमा लगाउन अनुपयुक्त मानिन्छ।

एक महिला पोसाक पसलका सञ्चालकले चिनियाँ सञ्चारमाध्यम ‘सिटी एक्सप्रेस’ लाई बताए अनुसार उनको पसलले विभिन्न अवसर र स्थान अनुकूलका कपडाहरू उपलब्ध गराउँदै आएको छ।

उदाहरणका लागि, मे महिनामा समुद्र किनारको भ्रमणका लागि तस्बिरमा राम्रो देखिने लेहेङ्गा-फ्रकहरू, ड्रागन बोट फेस्टिभलका लागि परम्परागत ‘हान्फु’ पोसाकहरू र सिन्जियाङ भ्रमणमा जाने पर्यटकहरूका लागि भिन्न खालका पहिरनहरू पसलमा राख्ने गरिएको छ।

ती व्यापारीले आफ्नो पसलबाट मुख्यतया १८ देखि ३० वर्ष उमेर समूहका ग्राहकहरूलाई महिनामा करिब १५,००० थान कपडा बिक्री हुने गरेको खुलासा गरे। उनका पसलमा सबैभन्दा बढी बिक्री हुने कपडाको मूल्य १० देखि ५० युआन (करिब १.५ देखि ७.५ अमेरिकी डलर) सम्म पर्दछ, जुन एक छाक साधारण खानाको मूल्य बराबर हो।

अधिकांश ग्राहकहरू दोहोर्‍याएर नआए पनि पसलमा निरन्तर नयाँ ग्राहकहरूको आगमन भइरहने उनले बताए। केही मानिसहरू भ्रमणबाट फर्किएपछि ती कपडाहरू फ्याँकिदिन्छन् भने कतिपयले सेकेन्ड-ह्यान्ड ई-कमर्स प्लेटफर्महरूमा बिक्री गर्दछन्।

केही मानिसहरूले यस ट्रेन्डलाई सस्तो र किफायती विकल्पका रूपमा अपनाए पनि ‘डिस्पोजेबल’ कपडाले फोहोर बढाएको र स्वास्थ्य समस्या निम्त्याउन सक्ने भन्दै यसको आलोचना भइरहेको छ।

“डिस्पोजेबल कपडा सस्तो त हुन्छ तर यसले पनि उत्पादन, ढुवानी र बिक्रीका सबै चरणहरू पार गरेको हुन्छ। हामीले जति धेरै फ्याँक्छौँ, त्यति नै धेरै फोहोर उत्पादन हुन्छ,” एक व्यक्तिले टिप्पणी गरेका छन्।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमका अनुसार विश्वभर वार्षिक ९ करोड २० लाख टन कपडाजन्य फोहोर उत्पादन हुने गर्दछ। सन् २००० देखि २०१५ को अवधिमा कपडा उत्पादन दर दोब्बर भएको छ भने कपडाको टिकाउपन वा प्रयोग अवधि ३६ प्रतिशतले घटेको छ।

यसबाहेक, सन् २०२३ मा कपडाका लागि प्रयोग गरिएका धागो (फाइबर) मध्ये केवल आठ प्रतिशत मात्र पुनःप्रशोधित (रिसाइकल) सामग्रीबाट लिइएको थियो। प्लास्टिकजन्य फोहोरमा कपडा तथा टेक्सटाइलको हिस्सा ११ प्रतिशत रहेको छ।

यी सस्ता ‘डिस्पोजेबल’ कपडाहरू प्रायः प्लास्टिकजन्य पदार्थबाट बनाइने भएकाले यसले फोहोरको समस्यालाई अझ गम्भीर बनाएको छ। यसका साथै, गुणस्तरहीन सामग्रीबाट बनेका यस्ता कपडाहरूले स्वास्थ्यमा समेत जोखिम निम्त्याउँछन्।

सिचुआन विश्वविद्यालयका प्राध्यापक तथा सांस्कृतिक उद्योग अनुसन्धान केन्द्रका निर्देशक काई साङवेईले ‘भिस्टा’ लाई बताए अनुसार सेकेन्ड-ह्यान्ड प्लेटफर्महरूमा बिक्री गरिने ‘डिस्पोजेबल’ कपडाहरूमा सरसफाइ र स्वच्छताको समेत गम्भीर चिन्ता हुन सक्छ।

“यो सबै तस्बिरमा राम्रो देखिनका लागि मात्र हो। डिस्पोजेबल कपडा केवल तस्बिर खिच्नकै लागि अस्तित्वमा छन्। मानिसहरूले आफ्ना यात्राहरूमा प्राकृतिक दृश्यको सहज आनन्द मात्र किन लिन सक्दैनन्?” एक अनलाइन पर्यवेक्षकले आलोचना गर्दै लेखेका छन्। अर्का एक प्रयोगकर्ताले टिप्पणी गरे, “यो सिङ्गो संसार नै एउटा ठूलो फोटो स्टुडियो बनिसकेको छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *