४० वर्षको उमेरमा पनि खेल जीवनलाई निरन्तरता दिने मोड्रिचको निर्णय

डिसी नेपाल
२१ भदौ २०८३ १४:२९

काठमाडौं। क्रोएसियाका कप्तान तथा स्टार खेलाडी लुका मोड्रिचले ४० वर्षको उमेरमा पनि आफ्नो खेल जीवनलाई निरन्तरता दिने निर्णय गरेका छन्। फिफा विश्वकपपछि उमेरका कारण उनले राष्ट्रिय टोलीबाट संन्यास लिन सक्ने आँकलन गरिएका बेला यस्तो निर्णय आएको हो।

क्रोएसियाली फुटबल महासङ्घका अनुसार ४० वर्षीय मोड्रिचले युइएफए नेसन्स लिगका आगामी खेलका लागि राष्ट्रिय टोलीमा उपलब्ध हुने जानकारी दिएका छन्। उनले प्रशिक्षक स्लाभेन बिलिच र महासंघका अध्यक्ष मारिजान कुस्टिचलाई आफू राष्ट्रिय टोलीका लागि उपलब्ध रहने बताएका हुन्।

मोड्रिचले चेकिया, स्पेन र इङ्गल्यान्डविरुद्ध हुने नेसन्स लिगका खेलहरू खेल्नेछन्। उनले हालसम्म क्रोएसियाका लागि २०२ खेल खेलिसकेका छन्। मोड्रिच हाल इटालियन क्लब एसि मिलानबाट व्यावसायिक फुटबल खेलिरहेका छन् भने जारी सिजनमा दुई खेल खेलिसकेका छन्।

यस वर्षको फिफा विश्वकपमा मोड्रिचले क्रोएसियाको कप्तानी गरेका थिए। क्रोएसिया अन्तिम ३२ को चरणमा पोर्चुगलसँग पराजित हुँदै बाहिरिएको थियो। प्रतियोगिताका चार खेलमा मोड्रिचले पाँच गोलको अवसर सिर्जना गर्दै एक असिस्ट गरेका थिए।

सन् २०२६/२७ को युइएफए नेसन्स लिग सेप्टेम्बर २४ देखि सुरु हुँदैछ। क्रोएसिया सन् २०१८ को विश्वकप उपविजेता हो भने सन् २०२२/२३ को नेसन्स लिगमा पनि स्पेनसँग पराजित हुँदै उपविजेता बनेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *