दाजुबहिनीको भूमिकाले हर्षितालाई तनाव, गुड्डु पण्डितसँग रोमान्स गर्ने इच्छा

डिसी नेपाल
२२ भदौ २०८३ १३:०८

काठमाडौं । ‘मिर्जापुर’ सिरिज र चलचित्र दुवैमा हर्षिता गौरले अली फजलको बहिनीको भूमिका निर्वाह गरेकी छन्। सिरिजमा अली ‘गुड्डू पण्डित’ को भूमिकामा छन् भने हर्षिता ‘डिम्पी’ को भूमिकामा देखिएकी छन्।

यी दुवैको अन-स्क्रिन केमेस्ट्रीले दर्शकहरूलाई मनोरञ्जन गराएको भए तापनि हर्षितालाई भने कहीँ न कहीँ दुःखी तुल्याएको छ। किनभने उनी अलीको केवल बहिनीको भूमिकामा सीमित हुन चाहदिनन्, बरु उनीसँग अन-स्क्रिन रोमान्स गर्ने इच्छासमेत राख्छिन्।

हर्षिताले ‘बलीवुड बबल’ सँगको कुराकानीमा आफ्नो यो मनको कुरा व्यक्त गरेकी छन्। अलीसँग आफूलाई सबैले सधैँ दाजु-बहिनीकै नजरले मात्र हेर्दा दुःखी लाग्ने गरेको उनी बताउँछिन्।

हर्षिताले भनिन्, “कसैले मलाई अलीसँग अर्कै नजरले हेर्दै हेर्दैन। गुड्डू र डिम्पी धेरै वर्षदेखि दाजु-बहिनीका रूपमा स्थापित भइसकेकाले उनीहरूलाई त्यसरी नै चिनिन्छ।”

आफ्नो असन्तुष्टि पोख्दै हर्षिताले भनिन्, “तर म उहाँसँग अरू पनि काम गर्न चाहन्छु। म उहाँसँग रोमान्टिक दृश्यमा पनि अभिनय गर्न चाहन्छु।”

“हाम्रो दाजु-बहिनीको भूमिका यति धेरै हाबी भइदियो कि कसैले हामीलाई त्योभन्दा फरक रूपमा कल्पना गर्न पनि सक्ला र भन्ने कुराले मलाई अचेल निकै सताउने गर्छ,” उनले थपिन्।

हर्षिताले अगाडि बताएकी छन् – अब दर्शकहरूले पनि उनीहरूलाई दाजु-बहिनीकै रूपमा हेर्ने गर्छन्। “हाम्रो अफ-स्क्रिन सम्बन्ध पनि त्यस्तै छ। उहाँ मेरो धेरै ख्याल राख्नुहुन्छ र मेरो खिसीट्युरी पनि गर्नुहुन्छ।”

उल्लेखनीय छ – ‘मिर्जापुर द मुभी’ गत सेप्टेम्बर ४ मा सिनेमाघरहरूमा प्रदर्शन भएको छ। चलचित्रले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको छ र प्रदर्शन भएको ३ दिनभित्रै १०० करोडको क्लबमा प्रवेश गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *