नेपाली कांग्रेसको १५औं महाधिवेशन: असोज ३ देखि वडा अधिवेशन सुरु हुने

डिसी नेपाल
२३ भदौ २०८३ १८:५८

काठमाडौं।  नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत रोकिएको गाउँ तथा नगर वडा अधिवेशन आगामी असोज ३ र ४ गते  हुने भएको छ।

यसअघि भदौ २४ गतेका लागि तय गरिएको वडा अधिवेशन रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा पार्टीभित्रको आन्तरिक व्यवस्थापनका कारण केही दिन पछाडि सारिएको हो।

केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काद्वारा जारी विज्ञप्तिअनुसार नयाँ कार्यतालिका स्वीकृत गरी देशभरका ६ हजार ७४३ वटै वडामा असोज ३ र ४ गते अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ। वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्।

नयाँ तालिका अनुसार आगामी असोज ७ गते गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन सञ्चालन हुनेछ।

त्यसैगरी असोज १० गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा विदेशस्थित जनसम्पर्क समितिका अधिवेशन सम्पन्न हुनेछन्। काठमाडौँमा तय गरिएको केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म सञ्चालन हुनेछ।

अत्यधिक बाढीप्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा भने खटिएका निर्वाचन अधिकृत र स्थानीय पार्टी संरचनाको समन्वयमा परिस्थिति अनुकूल मिलाएर अधिवेशन सम्पन्न गरिने समितिले जनाएको छ।

जिल्ला र प्रदेश अधिवेशनको बाँकी समयतालिका भने दोस्रो चरणमा सार्वजनिक गरिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *