प्रवासबाटै नेपाली संस्कृतिको संरक्षण: नर्थ क्यारोलिनाबाट सार्वजनिक भयो तीज गीत ‘तीन आँखे आईफोन’
काठमाडौं। नेपाली नारीहरूको महान् सांस्कृतिक पर्व हरितालिका तीजको पूर्वसन्ध्यामा नयाँ सांगीतिक कोसेली ‘तीन आँखे आईफोन’ सार्वजनिक भएको छ।
अमेरिकाको नर्थ क्यारोलिनास्थित क्यारी सहरमा सञ्चालित एभरेस्ट फोन तथा एभरेस्ट इलेक्ट्रोनिक्सको प्रस्तुतिमा तयार पारिएको उक्त तीज गीत मङ्गलबार ‘धुर्मुस–सुन्तली’ युट्युब च्यानलमार्फत बजारमा ल्याइएको हो।
तीजको परम्परागत रौनक र मौलिक भाकालाई कायम राख्दै गीतमा आधुनिक प्रविधि र बदलिँदो जीवनशैलीलाई रमाइलो तथा व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ। विशेष गरी नयाँ पुस्तामाझ मोबाइल फोन (आईफोन) प्रतिको बढ्दो आकर्षणलाई गीतको मुख्य विषयवस्तु बनाइएको छ।
चर्चित गायिका कोमल ओली र अञ्जना खतिवडाको मधुर स्वर रहेको यस गीतमा नर्थ क्यारोलिना निवासी अनमोल गिरीको शब्द रचना तथा चर्चित सङ्गीतकार बाबुल गिरीको सङ्गीत, संयोजन र मिक्सिङ रहेको छ। गीतको श्रव्य निर्माण स्वराङ्कन स्टुडियोमा गरिएको हो।
जेरी भण्डारीको कथा, नृत्य निर्देशन तथा निर्देशनमा तयार भएको म्युजिक भिडियोमा स्मारिका ढकाल, रचना न्यौपाने, अनमोल गिरी, उत्कृष्ट नेपाल, नरेश शर्मा र कृष्ण प्रधान लगायतका कलाकारहरूको जीवन्त अभिनय देख्न सकिन्छ।
नेपाल र अमेरिकाका विभिन्न मनोरम स्थानहरूमा छायांकन गरिएको यस भिडियोको छायांकन दिनेश पराजुली र सम्पादन सुजन कोइरालाले गरेका हुन् भने पोस्ट–प्रोडक्सनको काम जेबी क्रिएसनले सम्हालेको छ।
प्रवासमा रहेर पनि नेपाली भाषा, कला र संस्कृतिप्रतिको अगाध प्रेमका कारण यो सांगीतिक सिर्जना सम्भव भएको गीतका रचनाकार अनमोल गिरीले बताएका छन्। आकर्षक लय, रमाइला शब्द र ऊर्जाशील दृश्य संयोजनका कारण यस गीतले दर्शक तथा श्रोताको मन जित्ने निर्माण पक्षको अपेक्षा छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment