एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
काठमाडौं। मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज (बिहीबार) ओमानको सामना गर्दैछ। नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल यात्रा तय गर्ने लक्ष्यका साथ मैदान उत्रँदैछन्।
नेपाल समूह ‘ए’ को विजेता र ओमान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन्। समूह चरणका चारमध्ये तीन खेल जित्दै नेपाल शीर्ष स्थानमा रहेर अन्तिम चारमा पुगेको हो।
नेपालले समूह चरणमा बहराइनलाई ७ विकेट, मलेसियालाई ६ विकेट र साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो भने अन्तिम खेलमा हङकङसँग १५ रनको हार बेहोरेको थियो। प्रतियोगिताभर नेपाली टोलीको बलिङ मजबुद देखिए पनि ब्याटिङ लाइनअप भने केही कमजोर साबित भएको छ।
हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २४६ रनमै अलआउट भएको थियो। प्रतियोगितामा नेपालका तर्फबाट इशान पाण्डेले हङकङविरुद्ध बनाएको ९० रन नै एकमात्र अर्धशतक हो।
यद्यपि कप्तान सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरी सम्मिलित बलिङ आक्रमणले भने विपक्षीलाई सस्तोमै समेट्न महत्त्वपूर्ण योगदान दिइरहेका छन्।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबीचको पछिल्ला ५ भेटमा नेपालको पल्ला भारी देखिएको छ। यी ५ भेटमध्ये नेपालले ३ खेलमा जित दर्ता गरेको छ भने २ खेल ओमानले आफ्नो पक्षमा पारेको छ। घरेलु मैदान कीर्तिपुरमा खेलिएका तीनवटै खेलमा नेपालले ओमानमाथि एकछत्र दबदबा कायम राखेको थियो।
सन् २०२५ को मे ५ मा त्रिवि मैदानमा भएको खेलमा नेपाल ८१ रनले विजयी भएको थियो भने सन् २०२४ को अप्रिल २१ मा ३१० रनको विशाल योगफल खडा गर्दै ८४ रन र सन् २०२२ को जुन १४ मा ७ विकेटको सहज जित निकालेको थियो।
स्कटल्यान्डको डन्डीमा खेलिएका दुई खेलमा भने ओमान विजयी भएको थियो, जहाँ सन् २०२५ को अप्रिल २९ मा ओमान डकवर्थ-लुइस पद्धति अनुसार १०२ रनले र सोही वर्षको जुन १८ मा १ विकेटको झिनो अन्तरले विजयी भएको थियो।
बिहीबार नै हुने अर्को सेमिफाइनलमा समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स (यूएई) र समूह ‘ए’ को उपविजेता हङकङबीच प्रतिस्पर्धा हुनेछ। यस प्रतियोगिताको उपाधि जित्ने टोलीले सन् २०२७ को जुन १८ देखि जुलाई ४ सम्म बंगलादेशमा आयोजना हुने एसिया कपमा आफ्नो स्थान पक्का गर्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment