इरान समर्थित हुथी विद्रोहीहरूद्वारा लाल सागरको रणनीतिक सहर मोचामाथि कब्जा

डिसी नेपाल
२५ भदौ २०८३ १५:१४

काठमाडौं । यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरको महत्त्वपूर्ण बन्दरगाह सहर मोचामाथि कब्जा गरेका छन्। यमन सरकारका तीन अधिकारीहरूले यसको पुष्टि गरेका छन्। मोचा बाब-अल-मन्देब जलडमरूमध्य (स्ट्रेट) बाट ५० माइलभन्दा पनि कम दूरीमा अवस्थित छ।

बिहीबार बिहान यमनी सरकारी बलहरू सहरबाट पछाडि हटेको र हुथी लडाकुहरू अगाडि बढेको खबरहरू सार्वजनिक भएका थिए। सामाजिक सञ्जालहरूमा पनि सहरभित्र हुथी लडाकुहरू प्रवेश गरेका तस्बिर तथा भिडियोहरू बाहिरिएका छन्।

मोचामाथिको कब्जालाई हुथीहरूका लागि ठूलो सफलताका रूपमा हेरिएको छ। यसबाट लाल सागर र बाब-अल-मन्देब क्षेत्र वरपर उनीहरूको पकड अझ बलियो हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, हुथीविरुद्ध लडिरहेको ‘नेसनल रेजिस्टन्स फ्रन्ट’ ले आफ्ना एक कमान्डर सैन्य टोलीसहित बिहीबार बिहान मोचा प्रवेश गरेको जनाएको छ।

सो सङ्गठनले विरोधी-हुथी गठबन्धनसँग मिलेर मोचाको सुरक्षा व्यवस्थालाई पुनः व्यवस्थित र सुदृढ बनाउने काम भइरहेको बताएको छ। नेसनल रेजिस्टन्स फ्रन्टका अनुसार उसका फौजहरू र हुथी नौसैनिक बलबीच पनि भिडन्त भएको छ।

यमन सरकारका चार सैन्य स्रोतहरूका अनुसार हुथीहरू बाब-अल-मन्देब जलडमरूमध्यमा आफ्नो प्रभाव विस्तार गर्ने नजिक पुगेका छन्। यो विश्वकै सबैभन्दा महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गहरूमध्ये एक हो। हुथीहरू मोचा र धुबाब जस्ता तटीय सहरहरूमा आफ्नो पकड बलियो बनाउने प्रयासमा छन्, जुन सहरहरू सीधा बाब-अल-मन्देब नजिकै पर्छन्।

बाब-अल-मन्देब लाल सागरको दक्षिणी प्रवेशद्वार हो। यसले यमनलाई अफ्रिकी मुलुकहरू जिबुटी र इरिट्रियाबाट अलग गर्दछ। यस समुद्री मार्ग भई खाडी मुलुकहरूबाट काँचो तेल र इन्धन भूमध्य सागरतर्फ जाने गर्छ। यसबाहेक एसियातर्फ जाने कैयौँ व्यापारिक सामानहरूको ओसारपसार पनि यही बाटो भएर हुन्छ।

हालैका दिनहरूमा हुथी र सउदी अरब समर्थित यमनी सरकारी बलहरूबीचको लडाइँ तीव्र बनेको छ। सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धविरामले यमनमा लामो समयदेखि जारी युद्धलाई धेरै हदसम्म रोकेको थियो, तर उक्त सम्झौता अहिले कमजोर बन्दै गएको देखिन्छ।

हुथीहरूले बुधबार सउदी अरबले यमनका जौफ, मारिब र सादा प्रान्तका साथै ताइज र लाल सागरको किनारमा रहेको अल-हुदैदाहमा आक्रमण गरेको दाबी गरेका थिए। सउदी अरबले भने यी आक्रमणहरूको पुष्टि गरेको छैन।

उता, सउदी अरबको खमिस मुसैतमा बिहीबार २४ घण्टाभित्र चौथो पटक आपत्कालीन चेतावनी (इमर्जेन्सी अलर्ट) जारी गरियो। सउदी नेतृत्वको गठबन्धनका अनुसार हालै भएका हुथी आक्रमणहरूमा देशका चार दक्षिणी सहरहरूमा कम्तीमा ७३ जना घाइते भएका छन्। हुथीहरूले खमिस मुसैतको एयरबेस र वरपरका तेल पूर्वाधारहरूलाई निशाना बनाएको दाबी गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *