डा. सुनिल शर्माद्वारा १ हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा
काठमाडौं। नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी डा. सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका बिरामीहरूका लागि एक हजार वटा ‘मेजर’ शल्यक्रिया (अपरेसन) निःशुल्क गर्ने घोषणा गरेका छन्।
शुक्रबार आयोजित जिपी कोइराला फाउन्डेसनको साधारणसभा (एजीएम) तथा नेतृत्व हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै डा. शर्माले काठमाडौँ मेडिकल कलेज (केएमसी) को दुवाकोट र विराटनगरस्थित नोबेल मेडिकल कलेजमार्फत चालू वर्षभित्रै ती निःशुल्क अपरेसन गराइने घोषणा गरेका हुन्।
“पैसा अभावका कारण उपचार गराउन नसकेका बिरामीहरूका लागि दुवै मेडिकल कलेजबाट गरी एक हजार वटा मेजर अपरेसन निःशुल्क गर्ने घोषणा गर्दछौँ,” उनले भने।
आगामी दिनमा छात्रवृत्तिसम्बन्धी कार्यक्रमहरूसमेत अघि बढाउने तयारी रहेको र फाउन्डेसनकी निर्वतमान अध्यक्ष सुजाता कोइरालासँगको परामर्शमा थप कार्यक्रम घोषणा गरिने डा. शर्माले बताए। सोही कार्यक्रमका बीच सुजाता कोइरालाले डा. शर्मालाई जिपी कोइराला फाउन्डेसनको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गरेकी हुन्।
कार्यक्रममा डा. शर्माले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालासँगको आफ्नो लामो राजनीतिक तथा व्यक्तिगत सम्बन्धको स्मरण गरे। आफूले नेपाली कांग्रेसको साधारण सदस्यतासमेत गिरिजाप्रसादकै हातबाट हस्ताक्षर गराएर लिएको उनले बताए।
गिरिजाप्रसाद कोइरालाले आफूलाई मेडिकल शिक्षा तथा व्यवसाय क्षेत्रमा अघि बढ्न ठूलो प्रेरणा दिएको र नोबेल मेडिकल कलेजको सम्बन्धन प्रक्रियामा कुनै व्यक्तिगत लाभ नलिई सहयोग गरेको डा. शर्माले उल्लेख गरे।
गिरिजाप्रसादको सोही विरासत र आदर्शलाई निरन्तरता दिन आफूले फाउन्डेसनका गतिविधिहरू देशका ७७ वटै जिल्लामा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
पार्टीभित्र अन्याय र ठुलाबडाको हाबी हुँदा विद्रोह गर्नुपर्छ भन्ने बीपी कोइरालाको विचारलाई आत्मसात् गर्नुपर्नेमा डा. शर्माले जोड दिए। साथै, उनले पार्टी सभापति गगन थापा बीपी र गिरिजाप्रसादको राजनीतिक निरन्तरताका रूपमा अगाडि बढेको उल्लेख गर्दै कांग्रेसलाई नयाँ ऊर्जा र उत्साहका साथ हाँक्नुपर्ने बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment