एसीसी प्रिमियर कप फाइनल : नेपालले युएइलाई दियो ३१४ रनको लक्ष्य
काठमाडौं । मलेसियाको क्लाङस्थित बायोमास क्रिकेट ओभलमा जारी एसीसी पुरुष प्रिमियर कप २०२६ को फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सामू जितका लागि ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रनको मजबुत योगफल तयार पारेको हो। नेपालका लागि ओपनर आसिफ शेखले शतकीय पारि खेल्दै टोलीको इनिङ्सलाई बलियो स्थितिमा पुर्याए।
उनले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा उत्कृष्ट १०२ रन बनाए। अर्का ओपनर अर्जुन कुमालले पनि ६३ बलमा ६ चौका प्रहार गर्दै ४३ रनको योगदान दिएर पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरे।
मध्यक्रममा रोहित पौडेलले ४४ बलमा ४० रन जोड्दै इनिङ्सलाई सम्हालेका थिए। त्यसैगरी तल्लो ब्याटिङ क्रममा गुल्शन झाले आक्रामक ब्याटिङको प्रदर्शन गर्दै मात्र ३८ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय पारि खेले।
अन्तिम समयमा बसिर अहमदले पनि ४ बलमा १५ रन जोड्दै टोलीको योगफल ३०० पार गराउन महत्त्वपूर्ण योगदान दिए।
युएईका तर्फबाट बलिङ गर्दै इबरार शाह अहमदले सर्वाधिक ४ विकेट लिएका थिए भने खुजैमा बिन तन्वीरले २ विकेट लिए। उपाधि जित्दै एसिया कपमा स्थान बनाउनका लागि अब युएईले ३१४ रनको चुनौती सामना गर्नु पर्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment