बाँदरले क्षति नगर्ने अकबरे खुर्सानी खेतीबाट वालिङका किसानको आम्दानी बढ्दै

डिसी नेपाल
२८ भदौ २०८३ ८:१८

वालिङ, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१३ तारुखोलामा गरिएको व्यावसायिक अकबरे खुर्सानी खेतीले किसानलाई राम्रो आम्दानी दिन थालेको छ । धान, मकैजस्ता खाद्यान्न बाली लगाउँदै आएको जमिनमा अकबरे खुर्सानी खेती सुरु गरेपछि किसानले उत्पादनसँगै बजारको समेत राम्रो सम्भावना देखेका छन् ।

तारुखोलामा करिब ६० रोपनी क्षेत्रफलमा ७० हजारभन्दा बढी अकबरे खुर्सानीका बिरुवा लगाइएको छ । वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजनाअन्तर्गत केदारनाथ कृषि फार्ममार्फत व्यावसायिक रूपमा खुर्सानी खेती गरिएको हो ।

फार्मका सञ्चालक दयाराम पाठकका अनुसार धान, मकै लगायतका खाद्यान्न बालीबाट भन्दा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुने गरेको छ । साथै, खुर्सानी खेतीमा बाँदरले क्षति नगर्ने भएकाले यसको क्षेत्र विस्तार गर्न आफूहरू उत्साहित भएको उनले बताए ।

“गत फागुनमा लगाएको अकबरे खुर्सानीले अहिले उत्पादन दिन थालेको छ,” पाठकले भने, “उत्पादन भएको जति सबै बजार पठाउने गरेका छौँ । मागअनुसार बजारमा पुर्‍याउनसमेत सकेका छैनौँ ।”

फार्ममा अहिले दुई–तीन दिनमा करिब ३०० किलो पाकेको खुर्सानी टिपेर बिक्री गर्ने गरिएको छ । यहाँ उत्पादित खुर्सानी यशोदा फुड्स प्रालि, बुटवलस्थित तरकारी मण्डी तथा स्थानीय बजारमा बिक्री हुने गरेको छ ।

अकबरे खुर्सानी प्रतिकिलो २२० रुपैयाँका दरले बिक्री भइरहेको सञ्चालक पाठकले जानकारी दिए । उनका अनुसार उत्पादित खुर्सानीले बजारमा राम्रो मूल्य पाएको छ । बजारको समस्या नभए पनि उत्पादनको माग निरन्तर बढिरहेको उनले बताए ।

“यहाँ उत्पादन भएको खुर्सानीले राम्रो बजार पाएको छ । बजारको समस्या छैन, उत्पादन निरन्तर भइरहेको छ,” उनले भने ।

पहिलो पटक व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती सुरु गरिएको भएकाले आगामी दिनमा खेतीको क्षेत्रफल थप विस्तार गर्ने तयारी गरिएको छ । वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजना (हेफर) ले फार्मलाई कृषि प्राविधिक सहयोग, मल्चिङ प्लास्टिक, मल तथा खुर्सानी सुकाउने मेसिन उपलब्ध गराएको छ ।

खुर्सानी पाक्ने र टिप्ने क्रम निरन्तर चलिरहेको छ । फार्मले कामदार परिचालन गरी खुर्सानी टिप्ने तथा बजार पठाउने काम गरिरहेको छ । आफ्नै गाउँठाउँमा खेर गइरहेको जमिनको सदुपयोग गरेर राम्रो आम्दानी गर्न सकिने पाठकको अनुभव छ ।

“खेतमा खुर्सानी पाक्ने र टिप्ने क्रम जारी छ । कामदार लगाएर खुर्सानी टिपिरहेका छौँ,” उनले भने, “गर्न सके आफ्नै गाउँठाउँमा खेर गएको जमिनबाट पनि राम्रो आम्दानी लिन सकिने रहेछ ।”

फार्मले हालसम्म करिब सात लाख रुपैयाँ बराबरको खुर्सानी बिक्री गरिसकेको छ । अकबरे खुर्सानीसँगै फार्ममा माछापालन र कागती खेतीसमेत गरिएको छ ।

फार्ममा उत्पादित खुर्सानी, कागती, माछालगायत कृषिजन्य वस्तु आफ्नै सवारीसाधनमार्फत कृषक तथा व्यापारीकहाँ ढुवानी गर्ने गरिएको छ । यसबाट व्यापारी तथा उपभोक्तालाई समेत कृषि उपज खरिद गर्न सहज भएको छ ।

अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि तारुखोलाका किसानले परम्परागत खाद्यान्न बालीसँगै व्यावसायिक नगदेबालीतर्फ आकर्षित हुने सम्भावना बढेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *