ब्रिक्सको अध्यक्षता सम्हाल्नुअघि सहकार्यलाई नयाँ दिशा दिने जिनपिङको रोडम्याप
काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले आगामी वर्ष ब्रिक्सको अध्यक्षता सम्हाल्नुअघि यस सङ्गठनको आर्थिक तथा प्राविधिक सहकार्यलाई नयाँ दिशा दिने रोडम्याप प्रस्तुत गरेका छन्।
नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति सिले ब्रिक्स विशेष आर्थिक क्षेत्र साझेदारीको प्रस्ताव राखेका हुन्।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले सामाजिक सञ्जाल एक्समार्फत यो जानकारी दिएकी हुन्। उक्त पोस्टका अनुसार, प्रस्तावमा सदस्य राष्ट्रहरूबीच व्यापार, लगानी र औद्योगिक सहकार्यलाई प्रवर्द्धन गर्ने योजना रहेको उल्लेख छ।
आर्थिक तथा व्यापारिक सहकार्यका नयाँ क्षेत्रहरूलाई प्रवर्द्धन गर्नका लागि चीनले आगामी वर्ष ब्रिक्स सेवा व्यापार मञ्च आयोजना गर्ने घोषणासमेत उनले गरे।
चिनियाँ राष्ट्रपतिले आफ्नो सम्बोधनका क्रममा कुल पाँच वटा पहलहरूको उल्लेख गरेका छन्।
यसमा ओपन सोर्स र समावेशी एआई पहलको प्रस्ताव पनि समावेश छ। यसअन्तर्गत चीनले ब्रिक्स एआई ओपन सोर्स समुदायको स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ।
डिजिटल क्षेत्रमा चीनले ब्रिक्स डिजिटल इकोसिस्टम क्लाउड प्लेटफर्म स्थापना गर्ने कुरा व्यक्त गरेको छ।
उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रका लागि चीनले स्मार्ट म्यानुफ्याक्चरिङ सहकार्यको प्रस्ताव राखेको छ। जसअन्तर्गत उसले ब्रिक्स देशहरूलाई स्मार्ट फ्याक्ट्रीहरू निर्माण गर्न र यस क्षेत्रका मापदण्ड तय गर्न सहयोग पुऱ्याउनेछ।
विज्ञान तथा प्रविधि क्षेत्रमा चीनले दक्ष जनशक्ति तयार पार्नका लागि ब्रिक्स इन्जिनियर गठबन्धन र युवाहरूका लागि नवप्रवर्तन (इनोभेसन) आदानप्रदान कार्यक्रम सुरु गर्ने प्रस्ताव अघि सारेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment