विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल , बाढीपछिको पुनर्निर्माण र राहतबारे समीक्षा
काठमाडौं। रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका प्रभावित जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधिहरूसँग प्रधानमन्त्रीले छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु भएको उक्त बैठकमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूको सहभागिता रहेको छ।
छलफलमा प्रभावित क्षेत्रमा बाढीपछिको वर्तमान अवस्थाको समीक्षा, तात्कालिक राहत, पुनर्स्थापना तथा दीर्घकालीन पुनरुत्थानका लागि चाल्नुपर्ने कदमबारे गहन छलफल भइरहेको छ।
छलफलमा नुवाकोटका प्रतिनिधिसभा सदस्यहरू विक्रम तिमिल्सिना र अच्युतम लामिछानेका साथै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी सहभागी छन्।
यसैगरी, रसुवाबाट उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ उपस्थित हुनुहुन्छ भने गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले अनलाइनमार्फत सहभागिता जनाएका छन्।
धादिङका तर्फबाट गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) सहभागी छन्।
त्यस्तै, तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना (साकार) को पनि छलफलमा उपस्थिति रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment