नवप्रवेशी युवाको योगदानले उज्यालो नेपाल पार्टीलाई नयाँ उचाइमा पुर्‍याउँछ : कुलमान घिसिङ

डिसी नेपाल
३० भदौ २०८३ ८:२९

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवप्रवेशी युवा साथीहरूको साथ, सहयोग र योगदानले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने दाबी गरेका छन्।

आइतबार बसेको पार्टीको सचिवालयको पूर्ण बैठकमा अध्यक्ष घिसिङले युवाहरूको अनुभव, क्षमता र दक्षताका आधारमा नयाँ तथा महत्त्वपूर्ण जिम्मेवारी दिने निर्णय गरिएको जानकारी दिए।

देश निर्माणका लागि जागरूक र प्रतिबद्ध अन्य युवाहरूसँग पनि आगामी दिनमा सहकार्य गर्न उज्यालो नेपाल पार्टी तयार रहेको उनले बताए। युवाहरूको ऊर्जा, अनुभव र क्षमतालाई सही ढंगले उपयोग गर्दै पार्टीलाई थप सशक्त बनाउने उनको भनाइ छ।

अध्यक्ष घिसिङले देशमा व्याप्त हरेक क्षेत्रको अँध्यारो हटाउँदै विकास र समृद्धिको उज्यालो ल्याउन अब आफूहरूले नेतृत्व लिने दाबी गरे।

‘देश विकासका लागि इच्छाशक्ति, अनुभव र विज्ञताको मिश्रण आवश्यक छ,’ घिसिङले भने, ‘त्यसका लागि उज्यालो नेपाल पार्टीको विकल्प छैन।’

उनले सरकारले विद्युत् खपत बढाउने नीतिलाई प्राथमिकता दिनुपर्नेमा बिजुलीमा भ्याट र कर लगाउने, विद्युतीय सवारीसाधनमा कर बढाउने तथा ग्यासका लागि लाइन बस्नुपर्ने अवस्था सिर्जना गर्ने जस्ता उल्टो नीति अपनाएको आरोप लगाए। यस्ता नीतिले देशको विकास सम्भव नहुने उनको भनाइ छ।

उज्यालो नेपाल पार्टी कुनै निश्चित वाद वा सिद्धान्तको बहसमा मात्र सीमित नभई जनतालाई प्रत्यक्ष सेवा र परिणाम दिने कुरालाई प्राथमिकतामा राखेर अघि बढिरहेको अध्यक्ष घिसिङले बताए। जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने र देश विकासलाई गति दिने उद्देश्यका साथ पार्टी अघि बढ्ने उनको दाबी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *