ट्रम्पका छोराको विवाहमा पुटिन निकट व्यक्तिले खर्च गरेका थिए लाखौँ डलर
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर र उनकी पत्नी बेटिनाले आफ्नो विवाहको केही खर्च रुसका एक व्यापारीले व्यहोरेको पुष्टि गरेका छन्।
ती व्यापारीको नाम उमर क्रेमलेभ हो, जसको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट सम्बन्ध रहेको छ।
डोनाल्ड ट्रम्प जुनियर र बेटिनाको विवाह मे महिनामा भएको थियो। अहिले दुवैले इन्स्टाग्राममा एक पोस्टमार्फत बहामासको एक प्राइभेट आइल्यान्डमा आयोजित विवाह समारोहको दुई रातको आतिथ्य उमर क्रेमलेभले गरेको बताएका छन्।
उमर क्रेमलेभ इन्टरनेसनल बक्सिङ एसोसिएसन (आइबीए) का अध्यक्ष हुन्। दम्पतीले आफ्नो वक्तव्यमा क्रेमलेभलाई आफ्नो नजिकको साथी भनेका छन्।
ट्रम्प जुनियर र बेटिनाले यसलाई एक साथीका तर्फबाट दिइएको विवाहको उपहार (गिफ्ट) भन्दै यसका लागि आभार व्यक्त गरेका छन्।
यो सम्पूर्ण प्रकरणले अमेरिकी मिडियामा ट्रम्प परिवारमाथि वैदेशिक प्रभावलाई लिएर प्रश्न खडा गरिदिएको छ। यी खर्चहरूको जानकारी पहिले ‘प्रो पब्लिका’ को एक रिपोर्टमा बाहिर आएको थियो।
प्रो पब्लिकाको प्रतिवेदन अनुसार डोनाल्ड ट्रम्प जुनियर र बेटिना ट्रम्पले बहामासको एक प्राइभेट आइल्यान्डमा विवाह गरेका थिए। त्यसपछि विवाहको दुई दिवसीय उत्सव अर्को आइल्यान्डमा भएको थियो, जसको एक रातको भाडा करिब १ लाख डलर रहेको छ।
प्रतिवेदन अनुसार यस समारोहसँग सम्बन्धित कैयौँ खर्चहरू पनि क्रेमलेभले नै व्यहोरेका थिए। तिनमा करिब ७० हजार डलरको आतसबाजी (पटका पड्काउने) प्रदर्शन पनि समावेश थियो।
प्रो पब्लिकाले आफ्नो खोजमूलक अनुसन्धान (इन्भेस्टिगेसन) का आधारमा क्रेमलेभले विवाह समारोहमा लाखौँ डलर खर्च गरेको जनाएको छ।
अमेरिकी नैतिकता (एथिक्स) माथि नजर राख्ने कैयौँ सङ्घ-संस्थाहरूले यसप्रति चिन्ता व्यक्त गरेका छन्।
उनीहरूका अनुसार राष्ट्रपतिका छोराले रुसी राष्ट्रपति पुटिनसँग निकट सम्बन्ध भएका व्यक्तिबाट महँगा उपहारहरू स्वीकार गरेका छन्। ट्रम्प जुनियर सरकारी पदमा नरहे तापनि यो स्वार्थको द्वन्द्वको अवस्थाजस्तै हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment