किस्पाङका अध्यक्ष वीरबल तामाङविरुद्ध १० मुद्दा : बैंकिङ कसुर र ठगी मुद्दामा अनुसन्धान

डिसी नेपाल
३० भदौ २०८३ ११:३९

काठमाडौं।  बैंकिङ कसुर तथा ठगी अभियोगमा पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध १० वटा मुद्दामा अनुसन्धान भइरहेको खुलेको छ।

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्रीले राखेको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका तामाङलाई बैठकलगत्तै प्रहरीले परिसरबाटै नियन्त्रणमा लिएको थियो।

अरुण अर्यालको जाहेरीका आधारमा परेको बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तामाङको ‘क्रिमिनल रेकर्ड सिस्टम’ (सीआरएस) अभिलेख जाँच गर्दा बैंकिङ कसुर र ठगीका १० वटा बेग्लाबेग्लै मुद्दा फेला परेका छन्।

तामाङमाथि अदालतबाट म्याद थप गरी सबै मुद्दामा गम्भीरताका साथ अनुसन्धान अगाडि बढाइने परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए।

पछिल्लो समय भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोट लगायतका क्षेत्र प्रभावित भएपछि राहत, पुनःस्थापना र उद्धार कार्यको समीक्षाका लागि प्रधानमन्त्री कार्यालयमा जनप्रतिनिधिहरूको बैठक बोलाइएको थियो।

सोही बैठकमा सहभागी भएर फर्किने क्रममा तामाङ पक्राउ परेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *