रसुवागढी नाका बन्द भएपछि कैलाश मानसरोवर यात्राको चाप तातोपानी र हिल्सातर्फ
काठमाडौं। रसुवागढी नाका अवरुद्ध भएपछि कैलाश मानसरोवर यात्राबाट फर्किने तथा तिब्बत भ्रमणमा जाने-आउने यात्रुको आवागमन वैकल्पिक नाकातर्फ सरेको छ।
रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले भन्सार, अध्यागमनलगायतका संरचनामा क्षति पुर्याएपछि यात्रुले सिन्धुपाल्चोकको तातोपानी र हुम्लाको हिल्सा नाका प्रयोग गर्न थालेका हुन्।
अध्यागमन विभागका अनुसार भदौ १० देखि २९ गतेसम्म तातोपानी नाकाबाट ३ हजार ९०४ जना नेपाल प्रवेश गरेका छन्। प्रवेश गर्नेमा १ हजार ७३३ जना महिला रहेका छन्। सोही अवधिमा तातोपानी नाका हुँदै ३९१ जना नेपालबाट चीनतर्फ प्रस्थान गरेका छन्।
विभागका अनुसार तातोपानीबाट नेपाल भित्रिने यात्रुमध्ये ठूलो सङ्ख्या तिब्बत भ्रमण तथा कैलाश मानसरोवर यात्राबाट फर्किनेहरूको रहेको छ। रसुवागढी नाका हुँदै चीन प्रवेश गरी तिब्बत तथा कैलाश मानसरोवर पुगेका यात्रुहरू सो नाका बन्द भएपछि तातोपानी र हिल्साबाट नेपाल फर्किन थालेका हुन्।
हुम्लाको हिल्सा नाकाबाट पनि उक्त अवधिमा ३८७ जना नेपाल भित्रिएका छन्। तीमध्ये १६५ जना यसअघि रसुवागढी नाका हुँदै चीनतर्फ गएका यात्रु रहेको अध्यागमन विभागले जनाएको छ। सोही अवधिमा हिल्सा नाका हुँदै १७८ जना चीनतर्फ प्रस्थान गरेका छन्।
रसुवागढीमा आएको बाढीले अध्यागमन कार्यालयसहितका संरचनामा क्षति पुर्याएपछि उक्त नाकाबाट हुने यात्रु आवागमन पूर्ण रूपमा प्रभावित भएको हो। बाढीले कैलाश मानसरोवर यात्रामा प्रयोग हुने केही सवारीसाधनसमेत बगाएको थियो।
नेपालको बाटो हुँदै कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीको सङ्ख्या पछिल्ला वर्षहरूमा निरन्तर बढ्दै गएको छ। भारत र चीनबीचको सीमा तनावका कारण करिब पाँच वर्ष रोकिएको भारतीय नागरिकको कैलाश मानसरोवर यात्रा गत वर्षदेखि पुनः सञ्चालनमा आएको थियो।
चीनले यस वर्ष नेपाल हुँदै कैलाश मानसरोवर जाने भारतीय राहदानीवाहक तीर्थयात्रीको कोटा २४ हजार पुर्याएको छ। गत वर्ष यस्तो कोटा २० हजार रहेको थियो।
हाल नेपालबाट कैलाश मानसरोवर पुग्न तातोपानी, रसुवागढी र हिल्सा गरी तीन स्थलमार्ग तथा काठमाडौँ–ल्हासा हवाई मार्ग प्रयोग हुँदै आएको छ। रसुवागढी नाका बन्द भएपछि तातोपानी र हिल्सा वैकल्पिक मार्गका रूपमा थप महत्त्वपूर्ण बनेका छन्।
भारतले लिपुलेक र सिक्किमको नाथुला नाकाबाट पनि कैलाश मानसरोवर यात्रा सञ्चालन गर्दै आएको छ। तर ती दुई मार्गबाट भने वार्षिक १ हजार भारतीय तीर्थयात्रीलाई मात्रै यात्रा गराउने व्यवस्था छ।
लिपुलेक र नाथुलाबाट ५००-५०० जना मात्रै जाने सीमा रहेकाले ठूलो सङ्ख्याका भारतीय तीर्थयात्री नेपालको बाटो हुँदै कैलाश मानसरोवर जाने गरेका छन्।
रसुवागढी नाका पुनः सञ्चालनमा नआएसम्म तातोपानी र हिल्सामा यात्रुको चाप अझै बढ्न सक्ने देखिएको छ।
अध्यागमन विभागले वैकल्पिक नाकाहरूबाट हुने यात्रु आवागमनलाई सहज र व्यवस्थित बनाउन सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment