प्रधानमन्त्री र गृहमन्त्रीमाथि प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

डिसी नेपाल
३० भदौ २०८३ १६:०२

काठमाडौं। नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्तापक्षबाटै पटक–पटक सदनको गरिमा र मर्यादामा आँच आउने व्यवहार भइरहेको आरोप लगाए।

उनले भने, ‘प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम गर्नु हामी सबै माननीय सदस्यहरूको दायित्व हो र यसमा सबैभन्दा बढी जिम्मेवारी सरकारको हुन आउँछ। हामीले धेरै पटक आग्रह गरिसकेका छौँ। यो विषय उठान गरिसकेका छौँ। सरकार पक्षबाट, सत्तापक्षबाट पटक–पटक यो सदनको गरिमा आँच आउने गरी, मर्यादामा आँच आउने गरी व्यवहार भइरहेका छन् र त्यो प्रकारको कार्यशैली र व्यवहार यहाँ प्रकट भइरहेको छ।’

महरले सदनको गरिमा र मर्यादा प्रतिपक्षबाट मात्रै अपेक्षा गरिएको हो कि सरकारबाट पनि हो भन्दै प्रश्न गरे।

उनले भने, ‘म प्रश्न सोध्न चाहन्छु, के यो सभाको गरिमा र मर्यादा प्रतिपक्षहरूबाट मात्रै अपेक्षा गरिएको हो ? म यो प्रश्न गर्न चाहन्छु। सबैभन्दा बढी सरकारले यो सभाको गरिमा र मर्यादा राख्नुपर्ने हैन ?’

महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को उपनियम ६ ले सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था गरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले समेत उक्त नियम उल्लङ्घन गरेको आरोप लगाए।

उनले भने, ‘भर्खरै माननीय युवराज दुलाल बोलिरहेको बखत माननीय गृहमन्त्रीज्यू प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ ले सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने भन्ने नियमको व्यवस्था गरेको छ। यो नियमको उल्लङ्घन गर्दै कहिले प्रधानमन्त्रीज्यू, कहिले माननीय गृहमन्त्रीज्यूहरूले त्यो नियमको उल्लङ्घन गर्नुभएको छ र म आग्रह गर्न चाहन्छु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *