धितोपत्र बोर्डको नयाँ निर्देशन: संस्थापक सेयर बेच्नु १५ दिनअघि अनिवार्य सूचना दिनुपर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्दा अनिवार्य रूपमा १५ दिनअघि सार्वजनिक सूचना दिनुपर्ने व्यवस्था गरेको छ। नयाँ निर्देशन अनुसार कम्पनीले प्राप्त गरेको उक्त जानकारी नेप्सेमार्फत सार्वजनिक गर्नुपर्नेछ।
सार्वजनिक गरिएको यस्तो सूचनाको वैधता तीन महिनासम्म मात्र कायम रहनेछ। अर्थात्, ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहने आधारभूत सेयरधनीले पूर्वसूचना जारी भएको ३ महिनाभित्र कारोबार सम्पन्न गरिसक्नुपर्नेछ। उक्त अवधिमा सेयर बिक्री हुन नसकेमा पुनः सोही प्रक्रिया पूरा गर्नुपर्ने बोर्डले स्पष्ट पारेको छ।
नियामक निकायले पारदर्शिताका लागि यो नियम ल्याए पनि यसले पुँजी बजारमा थप सप्लाय बढाएर नकारात्मक असर पार्ने भन्दै लगानीकर्ताहरूले चिन्ता व्यक्त गरेका छन्। सेयर बजार पहिले नै सुस्त र लगानीकर्ताको मनोबल कमजोर रहेको अवस्थामा बजारमा ठूलो परिमाणमा सेयर आउँदैछ भन्ने पूर्वजानकारीले थप ‘प्यानिक’ सिर्जना गर्ने उनीहरूको तर्क छ।
यस विषयमा प्रतिक्रिया दिँदै लगानीकर्ता छोटेलाल रौनियारले अहिले लगानीकर्ताको आत्मबल बढाउनुपर्ने समयमा अनावश्यक नियम थप्नुभन्दा भएका व्यवस्थालाई सहज बनाउनेतर्फ बोर्डले ध्यान दिनुपर्ने बताए। ‘अहिले बजारमा मनोविज्ञान कमजोर भएको बेला नियम थप्ने होइन, सहज बनाउने हो,’ उनले भने।
त्यसैगरी अर्का लगानीकर्ता तारा फुल्लेलले सेबोनले सकारात्मक सोचका साथ नियम ल्याए पनि ठूलो सप्लाय आउने पूर्वसूचनाले बजारमा सकारात्मक भन्दा नकारात्मक असर नै धेरै पार्ने बताए। नेपाल सेयर धनी संघका अध्यक्ष घनश्याम पाण्डेले पनि अहिलेको आवश्यकता माग (डिमान्ड) सिर्जना गर्ने नीति ल्याउनु रहेको बताए। उनले अहिले सप्लाय नियन्त्रण गरी माग बढाउनेतर्फ लाग्नुपर्नेमा बोर्डले अनावश्यक नियम ल्याएर बजारमा नकारात्मक असर पुर्याएको आरोप लगाए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment