सर्लाहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु, चार घाइते

डिसी नेपाल
३१ भदौ २०८३ ६:३४

सर्लाही। सर्लाहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटना र चट्याङको घटनामा परी तीन जनाको ज्यान गएको छ भने चार जना गम्भीर घाइते भएका छन्।

जिल्लाको कबिलासी नगरपालिका-७ सिर्सियास्थित मलङ्गवा-नवलपुर सडकखण्डमा मङ्गलबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मधेस प्रदेश०३-०३३प ७८२४ नम्बरको नेपाली मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बिआर३०एपी १२२४ नम्बरको भारतीय मोटरसाइकल तीव्र गतिका कारण ठोक्किएका थिए।

दुर्घटनामा ७८२४ नम्बरका मोटरसाइकल चालक सर्लाही गोडैता नगरपालिका-६ का ३० वर्षीय सुमित यादव र १२२४ नम्बरका मोटरसाइकल चालक कबिलासी-८ का २६ वर्षीय पप्पु पासवानको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

सोही दुर्घटनामा परी १२२४ नम्बरको मोटरसाइकलमा सवार कबिलासी-८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा-६ का १८ वर्षीय बब्लुकुमार पासवान गम्भीर घाइते भएका छन्। अनुहार, टाउको र खुट्टामा चोट लागेका उनीहरूलाई मलङ्गवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ। प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।

चट्याङ लागेर बालिकाको ज्यान गयो

यसैगरी, सर्लाहीकै बागमती नगरपालिका-४ गोले टोलमा मङ्गलबार साँझ परेको चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

स्थानीय ठाकुरसिंह मोक्तानकी १२ वर्षीया छोरी दीना मोक्तानको चट्याङ लागेर गम्भीर घाइते भएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो।

घटनामा हस्तबहादुर बम्जनकी ११ वर्षीया छोरी प्रतिमा बोम्जन र ४२ वर्षीय पोशाकबहादुर वाइबा गम्भीर घाइते भएका छन्। घाइते प्रतिमालाई प्राथमिक उपचारपछि वीरगन्ज पठाइएको छ भने पोशाकबहादुरको बागमतीस्थित सभ्यता अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *