नेपाल-चीन सीमा सुरक्षा र व्यापार सहजीकरणका लागि हुम्लाको टोली ताक्लाकोटमा

डिसी नेपाल
३१ भदौ २०८३ ११:१६

सुर्खेत । नेपाल-चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको प्रतिनिधिमण्डल चीनको ताक्लाकोट पुगेको छ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँको नेतृत्वमा सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिसहितको टोली स्थलमार्ग हुँदै चीनको पुराङ काउन्टीस्थित ताक्लाकोट पुगेको हो।

पुराङ काउन्टीको स्थानीय प्रशासनको निमन्त्रणामा सीमा सुरक्षासम्बन्धी छलफलमा सहभागी हुन नेपाली टोली त्यसतर्फ गएको हो। बैठकमा हुम्लालगायत अन्य हिमाली जिल्लाका स्थानीय तहका प्रमुखहरूसमेत सहभागी छन्।

अपराध नियन्त्रण, व्यापार र हिमतालको विषय

ताक्लाकोटमा जारी छलफलमा नेपाल-चीन सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि तथा अपराध नियन्त्रण, शान्ति सुरक्षाको अवस्था, व्यापार सहजीकरण र सीमावर्ती हुम्लाका नागरिकको आवतजावतलाई व्यवस्थित बनाउने विषयमा केन्द्रित रहेर कुराकानी भइरहेको छ।

यसैगरी हुम्लाका नागरिकका लागि कैलाश मानसरोवर यात्रा सहज बनाउने र सीमा क्षेत्रमा रहेका हिमतालहरूबारे समेत चिनियाँ अधिकारीहरूसँग छलफल भइरहेको छ।

नियमित समन्वय र संवादमा जोड

दुई देशबिच सीमा सुरक्षा तथा आपसी सहकार्यलाई थप प्रभावकारी बनाउन नियमित सीमा बैठक आयोजना गर्नुपर्ने विषयमा नेपाली पक्षले जोड दिएको छ।

सीमावर्ती बासिन्दाको दैनिक आवागमन, व्यापार तथा धार्मिक पर्यटनसँग जोडिएका विषयलाई सहज बनाउन स्थानीय तहका अधिकारीहरूबिच निरन्तर संवाद र समन्वय आवश्यक रहेको प्रमुुख जिल्ला अधिकारी गुरागाईँले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *