भोटेकोशी बाढीको उपद्रव: महोत्तरीका सम्पर्कविहीन परिवारमा हरायो चाडपर्वको खुसी

डिसी नेपाल
१ असोज २०८३ ६:२९

महोत्तरी। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि निरन्तर सांस्कृतिक उत्सव तथा परम्परागत चाडपर्वहरू आइरहे पनि महोत्तरीका सम्पर्कविहीन परिवारका घरमा भने कुनै रौनकता छाउन सकेको छैन। भदौ १० गतेको बाढीयता परिवारका सदस्य बेपत्ता भएपछि ती घरहरूमा आँसु र वेदना मात्रै छ।

अपर त्रिशूली-१ जलविद्युत् आयोजनामा मेकानिकल इन्जिनियरका रूपमा कार्यरत बर्दिबास-३ गौरीडाँडाका सौभाग्य विष्ट बाढीसँगै बेपत्ता भएपछि उनको परिवार गहिरो पीडामा छ। बुबा ध्रुव विष्ट र दिदी सिर्जना भाइको पर्खाइमा रुँदै दिन बिताइरहेका छन्। रसुवा, नुवाकोटदेखि चितवनका अस्पतालहरू चहार्दासमेत सौभाग्यको कुनै अत्तोपत्तो पाउन सकिएको छैन।

यस्तै, बर्दिबास-९ का खिलबहादुर राना आफ्नी कम्प्युटर इन्जिनियर छोरी जोया रानाको खोजीका लागि आफैँ हेलिकप्टर भाडामा लिएर भौँतारिए पनि अहिलेसम्म कुनै खबर पाउन सकेका छैनन्। रक्षाबन्धनमा घर आउने बताएकी जोया हराएपछि ७५ वर्षीया हजुरआमासहित सिङ्गो परिवार शोकमा डुबेको छ।

मिथिला क्षेत्रमा मनाइने राखी, कृष्णजन्माष्टमी र चौरचनजस्ता पर्वहरू सम्पन्न भइसक्दा पनि पिपरा-३ की ६० वर्षीया विणादेवी यादव र जलेश्वर-१० का १० वर्षीय बिटुलाल दासको परिवारमा खुसी फर्केको छैन। बिटुका बुबा सुशील दास (पूर्व नेपाली सेना) तथा मटिहानी–७ का गङ्गाराम मण्डल पनि सोही बाढीबाट सम्पर्कविहीन छन्।

रसुवाबाट सुरु भई नुवाकोट, धादिङ, गोर्खा, तनहुँ र चितवन हुँदै बगेको भोटेकोशी बाढीले महोत्तरीका कुल १० जनालाई बेपत्ता बनाएको छ। जलेश्वरका हशन रेजा अन्सारी, लोहारपट्टीका सन्तोषकुमार ठाकुर, गौशालाका विजय थापा मगर र शीतबहादुर नुङ्गेली तथा रामगोपालपुरका विश्वजित मण्डल पनि अहिलेसम्म बेपत्ता छन्।

घरका मुख्य कमाउने र जिम्मेवार व्यक्ति नै हराएपछि पीडित परिवारहरूले आफ्ना मान्छेको सही स्थिति पत्ता लगाइदिन सरकार र उद्धार निकायहरूसँग हारगुहार गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *