भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार रुपैयाँ सहयोग

डिसी नेपाल
१ असोज २०८३ १०:३६

काठमाडौं।  रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एनसेल आजियाटा लिमिटेडका कर्मचारीहरूले सामूहिक रूपमा ३३ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन्।

कर्मचारीहरूका तर्फबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंक रसिद आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई हस्तान्तरण गरिएको छ।

एनसेल आजियाटा लिमिटेडका चिफ रेगुलेटरी एन्ड कर्पोरेट सर्भिसेज अफिसर डिल्लीराम श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन्। रकम हस्तान्तरण कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे पनि उपस्थित थिए।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्‍न क्षेत्रमा जनधनका साथै भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। अहिले बाढी प्रभावितहरूको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी छ।

यसअघि पनि एनसेल आजियाटा लिमिटेडले संस्थागत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *