कन्या संक्रान्तिकाे सांस्कृतिक तथा धार्मिक महत्त्व: सूर्यको उपासना र कन्या पूजाको परम्परा

काठमाडौं। हरेक वर्ष विश्वकर्मा पूजाकै दिन कन्या संक्रान्तिकाे अर्थात् वास्तु दिवस मनाउने चलन छ। हरेक निर्माणका संरचनाहरूको ढाँचा तयार गर्दा वास्तुलाई ध्यान दिइने भएकाले यस दिन कन्या पूजाले समेत विशेष प्राथमिकता पाउँछ।

कन्या संक्रान्तिकाे सूर्यले सिंह राशिबाट कन्या राशिमा प्रवेश गर्ने दिन हो। नेपालमा यो पर्व हरेक वर्ष असोज महिनाको १ गते मनाउने गरिन्छ। धर्मशास्त्र, ज्योतिष तथा सांस्कृतिक दृष्टिकोणले यस दिनको विशेष महत्त्व रहेको छ।

संस्कृतिविद् डा. माधव भट्टराईका अनुसार कन्या पूजा नेपाली धार्मिक तथा सांस्कृतिक परम्पराको महत्त्वपूर्ण पक्ष हो। कन्या पूजा भनेको कन्यालाई देवी वा देवताको स्वरूप मानेर गरिने पूजाहरूमध्ये एक हो।

नेपालमा जीवित कुमारीलाई भगवान् तथा भगवतीकै स्वरूप मानेर पूजा गर्ने विशिष्ट परम्परा रहेको उनले बताएका छन्। नेपाल मात्र यस्तो देश हो जहाँ जीवित कुमारीलाई आसनमा विराजमान गराएर पूजा गरिन्छ र उनीबाट प्रसाद ग्रहण गरिन्छ।

संस्कृतिविद् भट्टराईका अनुसार कन्या पूजाको विशेष महत्त्व दुर्गा पक्ष अर्थात् आश्विन शुक्ल पक्षको नवरात्रमा बढी हुन्छ। नवरात्रका क्रममा देवीका विभिन्न स्वरूपको पूजा गरिने भएकाले कन्यालाई समेत देवीको स्वरूपका रूपमा पूजा गर्ने परम्परा रहिआएको छ।

अरू समयमा पनि कन्या पूजा गर्न सकिने भए तापनि नवरात्रमा कुमारीको रूपमा गरिने पूजाको शास्त्रीय महत्त्व अझ बढी हुने उनको भनाइ छ।

यसैगरी, डा. भट्टराईका अनुसार धार्मिक परम्परामा सूर्य षष्ठी पनि सूर्यदेवको उपासनासँग सम्बन्धित महत्त्वपूर्ण अवसरका रूपमा लिइन्छ। षष्ठी तिथिमा सूर्यको विशेष आराधना गर्ने परम्परा छ। सूर्यसँग सम्बन्धित उपासनामा सप्तमी तिथिलाई समेत विशेष महत्त्व दिइन्छ।

हाम्रो पात्रोमा रवि सप्तमी भनेर उल्लेख गरिने र सूर्यको उपासना गर्ने प्रमुख अवसरमध्ये माघ शुक्ल सप्तमीमा पर्ने रथ सप्तमीलाई सूर्य सप्तमी वा रवि सप्तमी पनि भनिने उनले जानकारी दिएका छन्।

भाद्र महिना सकिँदै आश्विन लाग्ने समयसँगै मौसममा परिवर्तन आउन थाल्ने भएकाले सूर्यको ताप र प्रकाशको महत्त्व अझ बढ्ने संस्कृतिविद् भट्टराईको भनाइ छ।

जाडोको मौसम सुरु हुने समयमा सूर्यको किरण मानव जीवनका लागि अत्यावश्यक हुने भएकाले परम्परादेखि नै सूर्य उपासनालाई धार्मिक तथा सांस्कृतिक अभ्याससँग जोडिएको उनले बताएका छन्।

हिन्दू धर्मशास्त्रमा सूर्यलाई जीवन, ऊर्जा र स्वास्थ्यको प्रमुख स्रोतका रूपमा लिइने भएकाले यसका आफ्नै शास्त्रीय विधान र धार्मिक मान्यताहरू रहिआएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *