चिलिमे जलविद्युत्मा ज्यान गुमाएका ५ कर्मचारीको शव परिवारलाई हस्तान्तरण
रसुवा। रसुवाको चिलिमे जलविद्युत् केन्द्रमा बाढीका कारण फसेर ज्यान गुमाएका पाँच जना कर्मचारीको शव पहिचान गरी आज सम्बन्धित परिवारजनलाई हस्तान्तरण गरिएको छ।
चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार भोटेकोशी नदीको बाढीका कारण ज्यान गुमाउने इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारद्वय श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव परिवारलाई बुझाइएको हो।
सुरुङको बाहिरी भागबाट करिब १५० मिटरभित्र रहेको ‘कन्ट्रोल रुम’ क्षेत्रमा बुधबार अपराह्न फेला परेका ती शवहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोट पुर्याएर आफन्तको जिम्मा लगाइएको थियो।
नेपाली सेनाका बाहिनीपतिको कमाण्डमा भारतीय सेना, सशस्त्र प्रहरी बल र प्राधिकरणका कर्मचारीहरूको संयुक्त टोली उद्धार कार्यमा खटिएको थियो।
प्रबन्ध निर्देशक महर्जनले भोटेकोशी नदीको सतहभन्दा २० मिटर उचाइमा रहेको सुरुङभन्दा करिब ८५ मिटर माथिसम्म बाढी पुग्दा सुरुङ पूरै पुरिएको र ११ वाट क्षमताका दुई वटा टर्वाइनसहित सम्पूर्ण संरचना ध्वस्त भएको जानकारी दिए।
यसैबीच, रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत वितरणको काम निरन्तर जारी रहेको बताएका छन्। क्षतिको यकिन विवरण संकलन गर्न एक महिनाको समयसीमासहित २५ सदस्यीय समिति गठन भइसकेको छ।
आवतजावत सहज बनाउन नदीमाथि तुइन तथा फड्के निर्माण गरिएको छ भने बाढीपछि फैलिन सक्ने हैजा तथा विपद्जन्य महामारी रोकथामका लागि आवश्यक औषधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको उनले जानकारी दिएयो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment